लेबनानमा शान्ति सैनिकमाथि घातक हमला : दुई जनाको मृत्यु
सहयात्रा टिभी
काठमाडौँ । चैत्र १७, दक्षिण लेबनानमा संयुक्त राष्ट्र संघीय अन्तरिम शान्ति सेना (युनिफिल) माथि शृंखलाबद्ध आक्रमण तीव्र भएको छ । सोमबार भएको पछिल्लो विस्फोटमा दुई शान्ति सैनिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

युनिफिलका अनुसार दक्षिणी लेबनानको बानी हय्यान गाउँ नजिकै शान्ति सैनिक सवार गाडीलाई लक्षित गरी विष्फोट गराइएको थियो । मृत्यु हुनेमध्ये एक जना इन्डोनेसियाका सैनिक रहेको पुष्टि भएको छ । इन्डोनेसियाको विदेश मन्त्रालयले आफ्ना एक सैनिकको मृत्यु र अन्य तीन जना घाइते भएको जानकारी दिँदै घटनाको निन्दा गरेको छ । इन्डोनेसियाले यस आक्रमणमा इजरायलको संलग्नता रहेको आरोप लगाउँदै निष्पक्ष अनुसन्धानको माग गरेको छ ।
यसअघि आइतबार मात्रै अल–कुसायर नजिकै भएको अर्को आक्रमणमा एक शान्ति सैनिकले ज्यान गुमाएका थिए ।
नेपाली कमाण्ड पोष्टमा पनि आक्रमण
द्वन्द्वग्रस्त क्षेत्र माइस–अल–जबालमा रहेको नेपाली शान्ति सैनिकहरूको कमाण्ड पोष्टमा समेत आक्रमण भएको छ । उक्त आक्रमणबाट सैनिकहरूका व्यक्तिगत सामानमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको समाचारमा उल्लेख छ । शान्ति सैनिकमाथि भइरहेका आक्रमणको विश्वभर विरोध भएको छ ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति सैनिकको सुरक्षामा गम्भीर जोखिम बढेको भन्दै अन्तर्राष्ट्रिय कानुन पालना गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।
फ्रान्सका विदेशमन्त्री जिन नोल ब्यारोटले आक्रमणलाई ‘अस्वीकार्य’ भन्दै सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग गरेका छन् ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनले इजरायललाई सैन्य कारबाही रोक्न र शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आह्वान गरेका छन् ।
इजरायलले हेजबोल्लाह विरुद्धको अभियान भन्दै लेबनानमा स्थल आक्रमण विस्तार गरेसँगै हिंसा चर्किएको हो । इजरायली आक्रमणका कारण लेबनानमा हालसम्म १ हजार २०० भन्दा बढीको मृत्यु भइसकेको छ भने १२ लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् ।
सोमबार नै दक्षिणमा रहेको एक सैन्य जाँच चौकीमा इजरायली आक्रमण हुँदा एक लेबनानी सैनिकको समेत मृत्यु भएको छ । इजरायलले मार्च महिनादेखि लेबनानमाथि आफ्नो सैन्य अपरेसनलाई तीव्र बनाएको हो ।


