आजदेखि संसद अधिवेशन, ३ अध्यादेश पेशदेखि सभामुख निर्वाचनको मिति तयसम्मका कार्यसूची
सहयात्रा टिभी
काठमाडौँ । चैत्र १९, फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा चुनावबाट निर्वाचित संसदको पहिलो अधिवेशन आजबाट सुरू हुँदैछ । दिउँसो २ बजेबाट सुरू हुने बैठकमा ८ वटा सम्भावित कार्यसूची तय गरिएको छ ।

आज गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश, प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन र नेपाल विशेष सेवा अध्यादेश पेश गर्ने छन् । बैठकको सुरूमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आव्हानको पत्र जानकारी गराउने छन् । त्यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री नियुक्त तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि मौजुदा नियमावलीबाटै कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि पेश गरिने छन् । दलीय आधारमा सांसदहरूले मन्तव्य राख्ने छन् । आजको बैठकमा सभामुख पदको निर्वाचनको मिति पनि तोकिनेछ ।



