प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन्।

सभामुख चयनका लागि गत शुक्रबार मनोनयन दर्ताको तालिका तय गरिएको थियो। उक्त दिन अर्यालको मात्र एकल उम्मेदवारी परेको थियो। प्रतिनिधिसभा नियमावलीको नियम ७ मा व्यवस्था भएअनुसार, कुनै पदमा एक जनाको मात्र उम्मेदवारी परेमा समर्थक सदस्यले बोलिसकेपछि बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार अर्याल सभामुख बनेका हुन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सांसदसहित दुई तिहाइ बहुमतको नजिक छ। संसद्‌मा स्पष्ट बहुमत रहेका कारण प्रतिपक्षी दलहरूले सभामुखमा उम्मेदवारी नदिएका हुन्। प्रतिनिधिसभामा हाल ६ वटा दलको प्रतिनिधित्व छ। जसमा नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ जना सांसद रहेका छन्।

उपसभामुखको निर्वाचन
सभामुखमा निर्वाचित अर्यालले आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनेछन्। सभामुखको चयनसँगै अब उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ। नयाँ सभामुखले तोकेको दिन र समयमा उपसभामुखको निर्वाचन हुनेछ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, कानुनतः सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने प्रावधान छ। यद्यपि, एकल उम्मेदवारी मात्र परेको खण्डमा भने एउटै दलबाट पनि निर्वाचित हुन सक्नेछन्। निर्वाचित भएपछि उपसभामुखले राष्ट्रपतिको उपस्थितिमा सभामुखसमक्ष शपथ ग्रहण गर्ने व्यवस्था छ।

नेपालको संविधानको धारा २८४ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्‌मा सभामुख र उपसभामुख दुवै पदेन सदस्य रहने व्यवस्था छ। यस परिषद्‌ले प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका महत्त्वपूर्ण संवैधानिक निकायका प्रमुख र पदाधिकारी नियुक्तिको सिफारिस गर्छ। त्यसैले आगामी उपसभामुख कुन दलबाट र को चयन हुन्छन् भन्ने विषयलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।

प्रकाशित : 5 April, 2026

प्रतिक्रिया दिनुहोस्