असन्तुष्ट पक्षले बहिष्कार गरेपछि क्यानको बोर्ड बैठक स्थगित

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २२, नेपाल क्रिकेट संघ (क्यान)को शनिबार तय गरिएको बोर्ड बैठक स्थगित भएको छ । बोर्ड बैठकमा उपाध्यक्ष रोशन सिंहसहितको टोली अनुपस्थित भएपछि बोर्ड बैठक स्थगित गरिएको हो ।

नेपाल प्रिमियर लिग (एनपीएल)को खर्च विवरण माग गर्दै सिंहसहित ८ बोर्ड सदस्यले गत जेठमा क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझाउनेहरुमा सिंहसहित दुर्गा पाठक, विक्रम विष्ट, माधव कर्माचार्य, वीरेन्द्र चन्द, अर्जुन पौडेल, प्रदीप मजगैया र जयन्ती भट्ट थिए ।

क्यानले उक्त विवरण हालसम्म नदिएको भन्दै शनिबारको बोर्ड बैठक बहिष्कार गरिएको स्रोतले जनाएको छ । बैठकमा साधारण सभा, बजेट, वार्षिक कार्यक्रम र अडिट रिपोर्ट एजेन्डाको रुपमा थिए । शनिबार स्थगित भएपछि बोर्ड बैठक सोमबार बस्ने तय भएको छ ।

सबैको उपस्थिति होस् भन्ने उद्देश्यले बैठक सोमबारका लागि सारिएको क्यान अध्यक्ष चन्दले बताए ।

प्रकाशित : 5 April, 2026

प्रतिक्रिया दिनुहोस्