बजारमा अन्डाको मूल्य पुनस् बढ्यो
सहयात्रा टिभी
काठमाडौँ । चैत्र २२, बजारमा अन्डाको मूल्य पुनस् बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज आइतबारदेखि लागु हुने गरी अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको हो ।

नयाँ मूल्यसूची अनुसार सबै आकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि भएको छ । संघका अनुसार अब सबैभन्दा ठूलो एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ४ सय ७५ रुपैयाँ कायम भएको छ, जुन पहिले ४ सय ६० थियो ।
त्यसैगरी ४ सय ३५ रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अन्डाको मूल्य ४ सय ५० पुगेको छ भने ३ सय ८५ रुपैयाँ रहेको मिडियम अन्डाको मूल्य ४ सय तोकिएको छ ।
संघ सचिव मदन पोखरेलका अनुसार किसानसँगको निरन्तर छलफल र कार्यसमितिको निर्णय बमोजिम बजार स्थिर राख्न र किसानको बढ्दो उत्पादन लागत सुरक्षित गर्न मूल्य समायोजन गर्नुपरेको हो ।
चितवनलाई आधार मानेर निर्धारण गरिएको यो मूल्य फार्मबाट खरिद गर्दाको हो । संघले जारी गरेको सूचनामा चितवनबाट देशका अन्य सहरका डिपोमा अन्डा पुर्याउँदा भाडा, कार्टुन र क्रेट खर्चबापत थप १ सय ४५ रुपैयाँ लाग्ने स्पष्ट पारेको छ ।
यो नयाँ मूल्य निर्धारणसँगै अब बजारमा खुद्रा मूल्य पनि बढ्ने निश्चित छ, जसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने देखिन्छ ।


