नासाको ‘आर्टेमिस–२’ को ऐतिहासिक चन्द्रयात्रा : चार अन्तरिक्ष यात्री सफलतापूर्वक फर्किए
सहयात्रा टिभी
काठमाडौँ । चैत्र २८, नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी पृथ्वीमा फर्किएको छ । अन्तरिक्ष इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै नासाको ‘आर्टेमिस–२’ का चार अन्तरिक्ष यात्रीहरू १० दिने चन्द्र यात्रा पूरा गरी नेपाली समय अनुसार शनिबार बिहान प्रशान्त महासागरमा सफलतापूर्वक अवतरण गरेका हुन् ।

क्यालिफोर्नियाको तट नजिकै प्यारासुटको सहायताले क्याप्सुललाई सुरक्षित रूपमा समुद्रमा खसालिएको थियो, जहाँ अमेरिकी नौसेना र नासाको टोली पहिले नै उद्धारका लागि तयारी अवस्थामा थिए । क्याप्सुल पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा करिब २५ हजार माइल प्रतिघन्टाको अत्यधिक गतिमा थियो । वायुमण्डलको घर्षणका कारण क्याप्सुलको बाहिरी भागले करिब २,७०० डिग्री सेल्सियस तापक्रम सहेको थियो ।
यस अभियानले मानव जातिले अन्तरिक्षमा तय गरेको दूरीको ५० वर्ष पुरानो रेकर्ड समेत तोडेको छ। सन् १९७२ को ‘अपोलो–१७’ मिसनपछि चन्द्रमाको नजिक पुग्ने यो पहिलो मानवसहितको मिसन हो । अप्रिल ६ मा चन्द्रमाको वरिपरि घुम्ने क्रममा यो स्पेसक्राफ्ट पृथ्वीबाट ४ लाख किलोमिटर बढी टाढा पुगेको थियो । यो मानिसले अन्तरिक्षमा यात्रा गरेको अहिलेसम्मकै सबैभन्दा टाढाको दूरी हो ।
को–को थिए अन्तरिक्ष यात्री ?
आर्टेमिस–२ को ऐतिहासिक चन्द्रयात्रामा रहेका अन्तरिक्ष यात्रीहरू
१) रिड वाइसम्यान (कमान्डर)
२) भिक्टर ग्लोभर (पाइलट) – चन्द्रमाको यात्रा गर्ने पहिलो अश्वेत व्यक्ति ।
३) क्रिस्टिना कोच (मिसन स्पेसलिस्ट) – चन्द्रमाको यात्रा गर्ने पहिलो महिला ।
४) जेरेमी ह्यान्सन (मिसन स्पेसलिस्ट)– चन्द्रमाको यात्रा गर्ने पहिलो क्यानेडियन नागरिक ।


