अमेरिका र इरानबीचको शान्ति वार्ता निष्कर्षविहीन, इरानले सर्तहरू अस्वीकार गरेको अमेरिकी दाबी
सहयात्रा टिभी
काठमाडौँ । चैत्र २९, पाकिस्तानको राजधानी इस्लामावादमा भएको उच्चस्तरीय वार्तामा अमेरिका र इरानबीच कुनै शान्ति सम्झौता हुन सकेन। २१ घण्टा लामो गहन छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले तेहरानले वासिङ्टनका सर्तहरू मान्न अस्वीकार गरेको जानकारी दिएका छन्।

अमेरिकी टोलीको नेतृत्व गरेका भेन्सले इस्लामावाद छोड्नुअघि पत्रकारहरूसँग कुरा गर्दै भने, “नराम्रो खबर यो हो कि हामीबीच कुनै सम्झौता हुन सकेन। मलाई लाग्छ कि यो अमेरिकाका लागि भन्दा इरानका लागि बढी नराम्रो खबर हो।” सन् १९७९ को इस्लामिक क्रान्तिपछि वासिङ्टन र तेहरानबीच भएको यो सबैभन्दा उच्चस्तरीय भेटवार्ता थियो।
भेन्सले इरानले “हाम्रा सर्तहरू स्वीकार नगर्ने” निर्णय गरेको बताए। उनले अमेरिकाले परमाणु हतियार विकास नगर्ने विषयमा तेहरानबाट “आधारभूत र दृढ प्रतिबद्धता” खोजेको स्पष्ट पारे। “हामीलाई उनीहरूबाट एउटा स्पष्ट प्रतिबद्धता चाहिन्छ कि उनीहरूले परमाणु हतियार बनाउने छैनन् र त्यस्ता उपकरणहरू पनि खोज्ने छैनन् जसले उनीहरूलाई छिटो परमाणु हतियार प्राप्त गर्न सक्षम बनाओस्,” भेन्सले थपे।
यता इरानको विदेश मन्त्रालयले भने अमेरिकासँगको पहिलो सत्रको वार्ताबाटै सम्झौता हुने अपेक्षा कसैले नगरेको बताएको छ। “स्वाभाविक रूपमा, सुरुदेखि नै हामीले एउटै सत्रमा सम्झौतामा पुग्ने अपेक्षा गर्नु हुँदैनथ्यो। कसैको पनि त्यस्तो अपेक्षा थिएन,” मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सरकारी सञ्चारमाध्यम आईआरआईबीसँग भने।
उनले पाकिस्तान र क्षेत्रका अन्य मित्र राष्ट्रहरूसँगको सम्पर्क र संवाद जारी रहनेमा तेहरान विश्वस्त रहेको बताए।
मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले अमेरिका र इरानलाई युद्धविरामको प्रतिबद्धता कायम राख्न र दिगो शान्तिका लागि प्रयास जारी राख्न आह्वान गरेको छ।
पाकिस्तानका विदेशमन्त्री इशाक डारले भने, “पाकिस्तानको मध्यस्थता र युद्धविरामका लागि गरिएको प्रयासलाई सराहना गरेकोमा म दुवै पक्षलाई धन्यवाद दिन चाहन्छु। हामी आशा गर्छौं कि दुवै पक्षले यस क्षेत्र र बाहिरको दिगो शान्ति र समृद्धिका लागि सकारात्मक भावनाका साथ अघि बढ्नेछन्।”
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि यो युद्ध मध्यपूर्वमा फैलिएको थियो। इरानले पनि इजरायल र अमेरिकी सैन्य अखडा रहेका छिमेकी खाडी मुलुकहरूमा जवाफी हमला गरेको थियो। यस द्वन्द्वमा हालसम्म सैन्य र नागरिक गरी २,००० भन्दा बढी मानिसको ज्यान गइसकेको छ।
यो युद्धका कारण विश्वव्यापी ऊर्जा संकट समेत उत्पन्न भएको छ। इरानले विश्वको करिब २० प्रतिशत तेल र ग्यास निर्यात हुने ‘स्ट्रेट अफ हर्मुज’ मा अवरोध सिर्जना गरेपछि विश्व बजार प्रभावित भएको हो।
अमेरिकी उपराष्ट्रपति भेन्स र इरानी संसदका सभामुख मोहम्मद बाघेर कलिबाफ नेतृत्वको टोलीबीच लेबनानमा हिजबुल्लाहमाथि इजरायलको निरन्तर आक्रमण र अन्य गम्भीर मतभेदका बीच युद्धविरामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको थियो। तर, परमाणु मुद्दामा कुरा नमिल्दा वार्ता निष्कर्षविहीन बनेको हो।


