निष्क्रिय भएका विधेयकहरू अध्ययन गर्ने सरकारको तयारी

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २, प्रतिनिधिसभा विघटनसँगै निष्क्रिय भएका विधेयकहरू अध्ययन गरिँदैछ ।

ती विधेयकमा विघटित प्रतिनिधिसभामा भएको छलफल समेतका आधारमा नयाँ विधेयकहरू अगाडि बढाउने सरकारको तयारी छ । यसका निम्ति निष्क्रिय विधेयकहरू अध्ययन गरिँदैछ ।

विघटित प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक र सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम चरणमा पुगेका थिए ।

संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक पनि अन्तिम चरणमा पुगेको थियो । तर, २७ भदौमा प्रतिनिधिसभा विघटन भएसँगै यी लगायत संघीय संसद्मा रहेका ३० वटा विधेयक निष्क्रिय भएका हुन् ।

संघीय संसद् दुई सदनात्मक छ । प्रतिनिधिसभा विघटन हुँदा प्रतिनिधिसभामा दर्ता भएर संसदीय प्रक्रियामा रहेका २४ वटा विधेयक निष्क्रिय भएका थिए ।

प्रतिनिधिसभा विघटन हुँदा राष्ट्रिय सभामा दर्ता भएर संसदीय प्रक्रियामा रहेका ६ वटा विधेयक निष्क्रिय भएका थिए ।

प्रतिनिधिसभामा दर्ता भएर संसदीय प्रक्रियामा रहेका र प्रतिनिधिसभा विघटनसँगै निष्क्रिय भएका विधेयकहरूमा नेपाल पशु चिकित्सा परिषद् पहिलो संशोधन विधेयक, राष्ट्रिय खेलकुद विकास पहिलो संशोधन विधेयक, सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक रहेका छन् ।

तत्कालीन सरकारले निकै मेहनतका साथ पास गर्न खोजेको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पनि प्रतिनिधिसभा विघटनसँगै निष्क्रिय भयो ।

नयाँ सरकारले १०० बुँदे शासकीय सुधार सम्बन्धी कार्यसूची ल्याएको छ । जसमा कुन कानुन निर्माणको विषयलाई प्राथमिकताका साथ समावेश गरिएको छ ।

यस सन्दर्भमा समेत सरकारले प्रतिनिधिसभा विघटन हुँदा निष्क्रिय भएका विधेयकहरू अध्ययन गरेर त्यसलाई समेत अपनत्व लिन खोजेको हो । निष्क्रिय विधेयकको अध्ययनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र सम्बद्ध मन्त्रालयका अधिकारीहरू संलग्न छन् ।

प्रकाशित : 15 April, 2026

प्रतिक्रिया दिनुहोस्