सानेपामा कांग्रेसको कार्यसम्पादन समिति बैठक सुरु

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगन थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले दिउँसो सवा दुई बजेबाट बैठक सुरु भएको हो ।

यसअघि आजै कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बसेको थियो । सो बैठकले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । खड्कालाई सात दिनभित्र स्पष्टीकरण सोध्ने निर्णय सुनाइएको छ ।

आजकै कार्यसम्पादन समितिको बैठकमा कांग्रेसले वरिष्ठ अधिवक्ता यदुनाथ खनाल संयोकत्वको समितिले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथिको अध्ययन प्रतिवेदन बुझाउने भनिएको छ ।

कांग्रेसले चैत १९ गते जेनजी आन्दोलनका घटनाका जाँचबुझ गर्न बनेको कार्की आयोगको प्रतिवेदन अध्ययन गरी राय–सल्लाह–सुझावसहितको प्रतिवेदन बुझाउन खनालको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो ।

यही प्रतिवेदनका आधारमा कांग्रेसले कार्की आयोगको प्रतिवेदनबारे आफ्नो धारणा बनाउने भनिएको छ ।

 

प्रकाशित : 15 April, 2026

प्रतिक्रिया दिनुहोस्