संविधान संशोधन कार्यदलको दोस्रो बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १०, ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज बस्दै छ । प्रधानमन्त्री वालेन्द्र साहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा यो कार्यदल गठन गरिएको थियो ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा विभिन्न राजनीतिक दलबाट प्राप्त लिखित धारणा तथा सुझावका आधारमा पहिचान गरिएका संविधान संशोधनका प्रमुख मुद्दाहरूमा छलफल हुने छ। साथै, कार्यदलको आगामी कामकारबाहीका लागि प्रस्तावित कार्ययोजनामाथि समेत विस्तृत विचारविमर्श गरिनेछ।

कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य छन् । एमालेबाट संविधान सभाका सदस्य एवं डा. भीष्मनाथ अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट श्यामबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट संविधान सभाका सदस्य एवं पूर्वकानुनमन्त्री देवप्रसाद गुरुङ, राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट लगायतको उपस्थिति हुने देखिन्छ । श्रम संस्कृति पार्टी र नेपाली कांग्रेसका तर्फबाट पनि सदस्यहरू रहन सक्ने बताइएको छ ।

प्रकाशित : 23 April, 2026

प्रतिक्रिया दिनुहोस्