लोकप्रियतावादले टाउको उठाउन खोजेको देखिन्छ : वर्षमान पुन
सहयात्रा टिभी
काठमाडौँ । बैशाख १३, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले पुराना दलहरूको कमजोरीको जगमा लोकप्रियतावादीहरूको उदय भएको बताएका छन् ।

१७३औं विश्व मजदुर दिवसका सन्दर्भमा अखिल नेपाल ट्रेड युनियन महासंघले आइतबार काठमाडौंमा गरेको अर्न्तक्रियामा पुनले ३६ वर्ष शासन सत्तामा रहेका कांग्रेस–एमाले र १८ वर्ष सत्तामा बसेका आफूहरूको कमजोरीको जगमा रास्वपाको जन्मभएको बताएका हुन् । यो यथार्थ स्वीकार्न हिच्किचाउन नहुने उनको भनाइ छ ।
पुराना दल, नेता तथा लोकतान्त्रिक संस्थाहरूको विरोध गर्दा जनता किन खुसी भए भन्नेबारे गम्भीर समीक्षा गरेर अघि नबढे जनमत फर्कने सम्भावना नरहेको पनि उनले बताए ।
विश्वभर नै उदार लोकतन्त्रको असफलतापछि नवउदारवादी व्यवस्था उदाएको र नवउदारवादसँगै लोकप्रियतावाद अगाडि आएको चर्चा गर्दै पूर्वअर्थमन्त्री पुनले त्यसैको बाछिटा नेपाली राजनीतिमा परेको दाबी गरे । लोकप्रियतावादी शक्तिले जनमतबाट आएर शासन गर्ने प्रवृत्ति संसारभर नै रहेको बताए ।
पुनले कतिपय राजनीतिक एजेण्डा फरक भए पनि वर्तमान व्यवस्था, संविधान, लोकतन्त्रका पक्षमा रहेका वाम–लोकतान्त्रिक पार्टीहरूबीच एकता र सहकार्यको खाँचो रहेको औंल्याए ।
‘हामीहरूबीच कतिपय विषयमा राजनीतिक मतभेदहरू होलान् । तर, राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, संधिवान, श्रमिकहरू, किसान र कर्मचारी सबैका आधारभूत अधिकारका विषयमा वाम–लोकतान्त्रिक शक्ति एकै ठाउँमा उभिनुपर्छ’, उनले भने ।
