नेपाली पानीलाई विश्व बजारमा निर्यात गर्ने नयाँ र विशेष रणनीति
सहयात्रा टिभी
काठमाडौँ । बैशाख २८ , सरकारले २०८७ सालसम्म देशका शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी पहुँचमा पुर्याउने महत्त्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एकीकृत खानेपानी कार्यक्रम मार्फत यो लक्ष्य हासिल गरिने घोषणा गरे ।
उक्त लक्ष्य प्राप्तिका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी खानेपानीका आयोजनाहरू सञ्चालन गरिने सरकारको योजना छ ।
नागरिकले पिउने पानीको गुणस्तर सुनिश्चित गर्न देशभरि पानी परीक्षण प्रयोगशालाहरू स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
साथै, जलवायु परिवर्तनको असर न्यूनीकरण र पानीको स्रोत संरक्षणका लागि वर्षाको पानी संकलन तथा त्यसको दिगो व्यवस्थापनलाई समेत प्राथमिकता दिइने छ ।
यसपालि सरकारले नेपाली पानीलाई विश्व बजारमा निर्यात गर्ने नयाँ र विशेष रणनीति अघि सारेको छ ।
‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर’ अवधारणा अनुरूप नेपाली पानीलाई अन्तर्राष्ट्रिय बजारमा एउटा विशिष्ट ब्रान्डका रूपमा स्थापित गरिने राष्ट्रपति पौडेलले बताए ।
