लगातार बढेको सेयर बजार मंगलबार घट्यो

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २९ , अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार मंगलबार घटेको छ ।

बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज ३९.४४ अंक (१.४१ प्रतिशत) घटेको हो । यो कमीपछि नेप्से २७४४ अंकमा अडिएको छ । अघिल्लो दिन नेप्से परिसूचक ३८.१९ अंक (१.३९ प्रतिशत) बढेको थियो ।

अघिल्लो दिन मात्रै सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रममा पूँजीबजारका केही विषय पनि समेटिएका छन् ।

तर कार्यान्वयन पक्ष सधै कमजोर रहँदै आएकाले कागजमा लेखिएका नीति तथा कार्यक्रमले लगानीकर्ताको विश्वास जित्न सकेन । नीति तथा कार्यक्रमले यसअघि नै समेटिँदै आएका विषय दोहोर्‍याएको छ ।

गैरआवासीय नेपालीलाई बजारमा सहभागी गराइने, नेप्सेको पुनर्संरचना गरिने, बन्ड बजारको विस्तार गरिनेजस्ता विषय विगतमा पनि नीति तथा कार्यक्रम र बजेटमा समेत पर्दै आएका थिए । तर कार्यान्वयन प्रक्रिया अझै अनिश्चित छ ।

आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, शिवम् सिमेन्ट र एसवाई प्यानल छन् ।

प्रकाशित : 12 May, 2026

प्रतिक्रिया दिनुहोस्