सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने गरेर आतंकित गर्‍यो : रामकुमारी

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ३१ , नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा भय र त्रास सिर्जना गर्ने काम गरेको आरोप लगाएकी छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा उनले यस्तो बताएकी हुन् । उनले सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने काम गरेर आतंकित सिर्जना गरेको बताइन् ।

सरकारले अहिले काम गर्ने वातावरण सिर्जना गर्नुभन्दा मानिसरमा भय र त्रास सिर्जना गर्ने काम गरिरहेको बताइन् ।

उनले भनिन्, ‘यहाँ त निजी क्षेत्रलाई पहिले थुन्न अनि सुन्ने काम भएको छ । अहिले काम गर्ने वातावरण सिर्जना गर्नुभन्दा भय र त्रास सिर्जना गर्ने काम भइरहेको छ । यो काम गरिरहँदा उहाँहरूले कहाँ जान्छौँ भन्ने समेत थाहा पाउनुभएको छैन । यसले नयाँ बाटो दिँदैन ।’

उनले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पुरानै कार्यक्रमहरूको निरन्तरता भएको टिप्पणी पनि गरिन् ।

उनले जनताले दिएको ठूलो जनमतको अवसरलाई सरकारले उपयोग गर्न नसकेको पनि बताइन् ।

उनले भनिन्, ‘सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो । यसमा बुँदा घटाइएको छ । पुरानै कार्यक्रमहरू दोहोर्‍याएर खाँदेर लेखिएको छ । त्यसकारण यसमा कुनै कमेन्ट गरिरहनुपरेन । यति ठूलो जनमत पाएर आएको पार्टीले एकपटक सबै क्षेत्रमा डिपार्चर गर्ने मौका चाहिँ थियो ।

त्यो मौका नेपालको राजनीतिक इतिहासमा सबै पार्टीलाई जनताले एक न एक पटक दिएका छन् । तर हरेक पटक नेपाली जनताको परिवर्तन र रूपन्तरणको चाहाना परम्परागत कुराबाट कुण्ठित हुने कुरा देखिने भयो । यो नीति तथा कार्यक्रममा पनि यही कुरा देखिन्छ ।’

उनले सरकारले सुशासन र डेलिभरीमा जोड दिएको भन्दै नागरिक, राहदानी र जग्गाधनी पुर्जा बाढ्नु मात्रै डेलिभरी नहुने बताइन् ।

सबै वर्ग र समुदायको मानव अधिकार र मौलिक हकको सुनिश्चितता गर्न उनले आग्रह गरिन् ।

 

प्रकाशित : 14 May, 2026

प्रतिक्रिया दिनुहोस्