‘जनकपुर साहित्य महोत्सव’ को सातौं संस्करण आजदेखि

सहयात्रा टिभी

काठमाडौँ । जेठ १ , ‘जनकपुर साहित्य महोत्सव’ को सातौं संस्करण आजदेखि शुरू भएको छ । नव मिथिला फाउण्डेसनको आयोजना तथा फ्याक्ट्स नेपालको प्रायोजनमा आयोजित महोत्सव ३ जेठसम्म महेन्द्रनारायण निधि भवनमा सञ्चालन हुनेछ ।


तीन दिवसीय महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा र संस्कारलगायत विषयमा १३ वटा ओपन-एयर प्यानल छलफल आयोजना गरिएको छ ।

महोत्सवमा ‘मैथिली कथाको नेपाली संसारः माटिक लोक’, ‘जनकपुरको कनेक्टिभिटी र पर्यटनको भविष्य’, ‘किन हुन्छ खेलकुदमा खेलवाड?’, ‘कसरी फर्काउने जनकपुरको शास्त्रार्थ?’, ‘सञ्चारकर्मको बदलिँदो परिदृश्य’, ‘जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमाः सम्भावना, चुनौती र मार्गचित्र’, ‘नेपाली महिला लेखनः संघर्षदेखि सिर्जनासम्म’ लगायतका विषयमा विमर्श हुने जनाइएको छ।

महोत्सवको उद्घाटन आज दिउँसो २ बजे महेन्द्र नारायण निधि भवनको सभाहलमा मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
यसअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवका कार्यक्रम र उद्देश्यबारे जानकारी गराइएको थियो।

फाउण्डेसनका उपाध्यक्ष आदित्य नेपालका अनुसार जेठ २ गते बिहान प्रभातकालीन सम्पदा पदयात्रा महोत्सवको प्रमुख आकर्षण रहनेछ। उनका अनुसार पदयात्रामा १२ सयदेखि १५ सय जनासम्म एकै प्रकारको पोशाकमा सहभागी हुनेछन्। सम्पदाको महत्व र यसको संरक्षणबारे सन्देश प्रवाह गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको हो, उनले बताए।

महोत्सवका निर्देशक राजीवधर जोशीले सातौं संस्करणलाई अघिल्ला संस्करणभन्दा फरक र जनकपुरधाम केन्द्रित बनाइएको बताए । ‘यसपटक हामीले जनकपुरधाम, यहाँको सांस्कृतिक विरासत, जानकी मन्दिर र सम्पदामाथि विशेष मन्थन गर्नेछौँ,’ उनले भने।

प्रकाशित : 15 May, 2026

प्रतिक्रिया दिनुहोस्