विश्वकप लिग–२: स्कटल्याण्डविरुद्ध नेपालले पहिले बलिङ गर्दै
सहयात्रा टिभी
काठमाडौँ । जेठ ४, आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ। स्कटल्याण्डका कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङको निम्तो पाएको हो।

यसअघिको खेलमा अमेरिकालाई ९ विकेटले पराजित गरेको नेपाली टोलीमा आज कुनै परिवर्तन गरिएको छैन। अमेरिकाविरुद्ध डेब्यु गरेका इशान पाण्डेले आज पनि अन्तिम ११ मा स्थान बनाएका छन्। उता स्कटल्याण्डका लागि भने ओली जोन्सले आजको खेलमार्फत ओडीआई (एकदिवसीय) क्रिकेटमा डेब्यु गर्दैछन्।
जारी शृंखलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा २ रनले पराजित भएको थियो। सो हारको बदला लिँदै जितको लयलाई निरन्तरता दिने लक्ष्यका साथ नेपाल आज मैदान उत्रिएको छ।
अंक तालिकाको अवस्था हेर्दा स्कटल्याण्ड ३० खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल २६ खेलबाट २० अंक जोड्दै सातौँ स्थानमा रहेको छ। आजको खेलमा जित निकालेमा नेपालको अंक तालिकामा सुधार हुनेछ।
नेपाली प्लेइङ ११:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी।
