इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदैछ, चाँडो सहमति गर अन्यथा केही बाँकी रहने छैन

सहयात्रा टिभी

काठमाडौँ । जेठ ४, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि भइरहेको वार्तामा गतिरोध उत्पन्न भएपछि कडा चेतावनी दिएका छन्। उनले इरानका लागि समय घर्किँदै गएको बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, “उनीहरू चाँडो अघि बढेको राम्रो, नत्र उनीहरूको केही पनि बाँकी रहने छैन। समय निकै महत्वपूर्ण छ!” इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग आइतबार कुराकानी गर्नुअघि ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो।

यता इरानी सञ्चारमाध्यमहरूले भने तेहरानले राखेको पछिल्लो प्रस्तावमा अमेरिकाले कुनै ठोस लचकता नदेखाएको दाबी गरेका छन्। इरानको अर्ध-सरकारी समाचार एजेन्सी ‘मेहर’का अनुसार वासिङ्टनले सम्झौताका लागि पर्याप्त लचकता नदेखाउँदा वार्ता “अवरुद्ध” हुने स्थितिमा पुगेको छ।

इरानको ‘तास्निम’ समाचार एजेन्सीका अनुसार तेहरानले सबै मोर्चामा तत्काल युद्ध रोक्नुपर्ने (लेबनानमा हिजबुल्लाह विरुद्धको इजरायली आक्रमण समेत), इरानी बन्दरगाहमा लगाइएको अमेरिकी नौसेनाको नाकाबन्दी हटाउनुपर्ने र फेरि आक्रमण नहुने सुनिश्चितता गर्नुपर्ने सर्त राखेको छ। यसका साथै इरानले युद्धको क्षतिपूर्ति र ‘स्ट्रेट अफ हर्मोज’मा आफ्नो सार्वभौमिकताको माग पनि गरेको छ।

अर्कोतर्फ, अमेरिकाले इरानसमक्ष पाँचवटा सर्तहरू राखेको बताइएको छ। जसमा इरानले केवल एउटा मात्र आणविक केन्द्र सञ्चालन गर्न पाउने र आफूसँग भएको ‘हाइली इनरिच्ड’ (उच्च संवर्द्धित) युरेनियम अमेरिकालाई बुझाउनुपर्ने सर्तहरू समावेश छन्।

यद्यपि, ट्रम्पले शुक्रबार इरानको आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्नुको सट्टा २० वर्षका लागि निलम्बन गर्ने प्रस्तावमा आफू सकारात्मक रहेको संकेत दिएका छन्। यसलाई ट्रम्पको अघिल्लो अडानमा आएको केही परिवर्तनको रूपमा हेरिएको छ।

गत फेब्रुअरी २८ देखि इजरायली र अमेरिकी सेनाले इरानमाथि भीषण हवाई आक्रमण सुरु गरेका थिए। अप्रिलको सुरुवातमा भएको युद्धविराम अहिलेसम्म सामान्य रूपमा कायम रहे पनि अहिले यो “लाइफ सपोर्ट”मा रहेको ट्रम्पले टिप्पणी गरेका छन्।

इरानले हाल विश्वको २० प्रतिशत तेल र ग्यास ढुवानी हुने महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मोज’ नियन्त्रणमा लिएको छ। इरानको यो कदमले विश्वभर तेलको मूल्य ह्वात्तै बढाएको छ। पाकिस्तानले हाल अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ, तर दुवै पक्ष अझै पनि सहमतिको विन्दुबाट निकै टाढा देखिएका छन्।

प्रकाशित : 18 May, 2026

प्रतिक्रिया दिनुहोस्