अमेरिकामा ‘एयर शो’ का क्रममा दुई सैन्य विमान हावामै ठोक्किए
सहयात्रा टिभी
काठमाडौँ । जेठ ४, अमेरिकाको आइडाहो राज्यमा एक प्रदर्शनी उडानका क्रममा अमेरिकी नौसेनाका दुईवटा इलेक्ट्रोनिक वारफेयर विमानहरू हावामै एकापसमा ठोक्किएका छन्। ‘माउन्टेन होम एयर फोर्स बेस’ मा आयोजित ‘गनफाइटर स्काइज एयर शो’ का क्रममा यो दुर्घटना भएको हो।

विमानहरू एकापसमा ठोक्किएर भुइँमा खसे पनि चालक दलका चारैजना सदस्यहरू समयमै ‘इजेक्ट’ (विमानबाट बाहिर निस्कन) सफल भएका कारण उनीहरूको ज्यान जोगिएको छ।
घटनास्थलको भिडियोमा दुईवटा EA-18G ग्रोउलर (Growler) जेटहरू कम उचाइमा एकसाथ उडिरहेको देखिन्छ। उडानकै क्रममा ती विमानहरू एकापसमा ठोक्किएर अल्झिएको र लगत्तै सन्तुलन गुमाउँदै भुइँतर्फ खसेको देखिएको छ। विमान भुइँमा बजारिनु केही सेकेन्डअघि मात्र पाइलटहरू बाहिर निस्कन सफल भएका थिए। उनीहरू प्यारासुटमार्फत सुरक्षित अवतरण गरिरहेको दृश्य भिडियोमा कैद भएको छ।
नौसेना वायु सेनाकी प्रवक्ता कमाण्डर अमेलिया उमायामले भनिन्, “चालक दलका चारैजना सदस्यहरू सफलतापूर्वक इजेक्ट भएका छन् र अहिले स्वास्थ्यकर्मीहरूले उनीहरूको स्वास्थ्य परीक्षण गरिरहेका छन्।”
के हो EA-18G ग्रोउलर ?
बोइङ कम्पनीले निर्माण गरेको EA-18G ग्रोउलर विमान ‘एफ/ए-१८एफ सुपर हर्नेट’ लडाकु जेटको परिमार्जित स्वरूप हो। विशेष गरी शत्रुको राडार र सञ्चार प्रणालीलाई अवरुद्ध गर्ने ‘इलेक्ट्रोनिक वारफेयर’ का लागि यसको प्रयोग गरिन्छ। सन् २००० को दशकको अन्त्यतिर सेवामा ल्याइएको यो विमानलाई पुरानो ‘EA-6B प्रोलर’ विमानको सट्टामा प्रयोग गर्न थालिएको हो।
