कानून व्यवसायीले लालटिन बालेर गरे प्रदर्शन
सहयात्रा टिभी
काठमाडौँ । जेठ ३ , कानून व्यवसायीहरूले लालटिन बालेर प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च परिसरमा प्रदर्शन भएको हो ।

एसोसिएसनको सोमबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो । सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालेको हो ।
प्रधानन्यायधीश सिफारिसको विषयमा नेपाल बारले असन्तुष्ट व्यक्त गर्दै आएको छ । वरिष्ठतम मिचेर चौथो वरीयताको न्यायाधीशलाई प्रधान्यायाधीशमा सिफारिस गरिएको भन्दै नेपाल बारले विरोध गरिरहेको छ ।
वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने बारको माग थियो । तर संवैधानिक परिषद्ले चौथो वरीयतामा रहेका न्यायाधीश मनोज शर्माको नाम सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिमा सुनुवाइसमेत सुरु भइसकेको छ ।
