आईटी क्षेत्रमा बजारको माग अनुसार नयाँ पाठ्यक्रमको बहस सुरु
सहयात्रा टिभी
काठमाडौँ । जेठ ३ , सूचना प्रविधि(आईटी) क्षेत्रमा बजारको मागअनुसार जनशक्ति उत्पादन गर्न सघाउ पुर्याउने पाठ्यक्रम निर्माणसम्बन्धी बहस सुरु भएको छ ।

नेपाल खुला विश्वविद्यालयसँगको सहकार्यसहित ‘स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडिसी) र स्वीस कन्ट्याक्ट’को वित्तीय तथा प्राविधिक सहयोगमा नयाँ पाठ्क्रम निर्माण प्रक्रिया अघि बढेको छ ।
यसैक्रममा सूचना प्रविधि तथा सफ्टवेयर कम्पनीहरूको साझा संस्था ‘नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनिज’ (नास–आईटी)द्वारा यहाँ आयोजित अन्तरक्रियामार्फत यस्तो बहस सुरु भएको हो ।
कार्यक्रममा विषय विज्ञहरूले समयानुकुल दक्ष जनशक्ति उत्पादनका लागि नयाँ पाठ्यक्रम निर्माण गर्नुपर्ने खाँचो औँल्याए । विज्ञहरूले स्नातक तहअन्तर्गत सूचना प्रविधि विषयको पाठ्यक्रमलाई समसामयिक र व्यावहारिक बनाएर उद्योग तथा व्यापारिक प्रतिष्ठानको माग सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन् ।
सो अवसरमा नास–आईटीका अध्यक्ष गौरव पाण्डेले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारलाई समेत दृष्टिगत गरी सूचना प्रविधिसम्बन्धी विषयको पाठ्यक्रम तयार गर्नुपर्ने सुझावलाई आत्मसात् गरी अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
नेपाल खुला विश्वविद्यालयको स्कुल अफ आईटीका प्रमुख डा भोजराज घिमिरेले नयाँ पाठ्यक्रममा एआई, डेटा साइन्स, ब्लकचेन, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षालगायत नयाँ विषयधहरू समावेश हुने जानकारी दिए ।
कार्यक्रममा एआईले सूचना प्रविधि उद्योगलाई आमूल रूपमा रूपान्तरण गरिरहेको अवस्थामा नयाँ पाठ्यक्रममार्फत समस्या समाधान गर्ने क्षमता, डेटा बुझाइ, क्रिटिकल थिङ्किङ र एआईसँग काम गर्नसक्ने क्षमता राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
