आज पनि अभिव्यक्तिबारे सरकारसँग स्पष्ट जवाफ माग गरे

सहयात्रा टिभी

काठमाडौँ । असार २, प्रतिनिधिसभाको बैठकमा आज पनि प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी विषयको अभिव्यक्तिको विरोध गर्दै जवाफ मागेका छन् ।

बैठकमा प्रधानमन्त्रीको धारणा रेकर्डबाट हटाउन फेरी माग गरे । नेकपा सांसद प्रमेश हमालले प्रधानमन्त्री जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिसँग सम्बन्धित विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।

नेपालले भारतको भूमि मिचेको छ भन्ने विषय उठेपछि आएको प्रधानमन्त्रीको भनाइबारे संसद्मा चर्चा गर्दै उनले सरकारको धारणा स्पष्ट हुनुपर्ने बताएका हुन्।

सांसद हमालले प्रधानमन्त्रीको अभिव्यक्ति निरन्तर आइरहेको उल्लेख गर्दै केवल विरोध जनाएर मात्र नहुने र त्यसपछि पुनः उही शैली दोहोरिने अवस्था अन्त्य हुनुपर्ने बताए।

उनले परराष्ट्रमन्त्रीलाई लक्षित गर्दै हाल उठिरहेको त्रिदेशीय सीमासम्बन्धी विषयमा चीनसँग कुरा भएको छ कि छैन भन्नेबारे स्पष्ट जानकारी दिन आग्रह गरे।

उनले नेपालको सार्वभौमिकता र सीमा सुरक्षासँग सम्बन्धित विभिन्न घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सुस्तामा भारतीय नागरिक प्रवेश गरेको, दार्चुलाको नेपाली आकाशमा हेलिकप्टर प्रवेश गरेको तथा नेपाली चिया निर्यातमा अवरोध सिर्जना भएको विषय उठाए।

कांग्रेसकी रेखाकुमारी यादवले विगतमा केटाकेटीलाई ललिपप देखाएजस्तो परराष्ट्रमन्त्रीले बोलेर नहुने बताइन् । उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे मन्त्रीले जवाफ दिएर नहुने उल्लेख गरिन् । एमालेकी टुकाभद्रा हमालले पनि प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने बताइन् ।

प्रकाशित : 16 June, 2026

प्रतिक्रिया दिनुहोस्