सांसदहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने माग राखे
सहयात्रा टिभी
काठमाडौँ । असार २, सांसदहरूले बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू खोजेका छन् ।

रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने माग राखेका छन् ।
प्रतिनिधिसभा नियमावलीमा सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य रहेको विषय विपक्षी दलहरूले उठाएका छन् । तर प्रधानमन्त्री बालेनको उपस्थितिको विषय सुनिश्चित भएको छैन ।
सम्बन्धित मन्त्रीको उपस्थितिको अनिवार्ष्यता सम्बन्धी व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम ६ को उपनियम ५ मा छ । जहाँ भनिएको छ, ‘बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्नेछ र कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्री समेत अनिवार्य उपस्थित हुनुपर्नेछ ।’
यसअनुसार रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथिको छलफलमा प्रधानमन्त्री बालेन स्वयम उपस्थित हुनुपर्छ ।
रक्षा मन्त्रालय प्रधानमन्त्री बालेनले आफैँ सम्हालिरहेका छन् । प्रधानमन्त्री कार्यालय बाहेक राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथिको छलफल सुन्ने र त्यसमा आएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने अभ्यास छ ।
प्रतिनिधिसभा नियमावली र अभ्यास अनुसार प्रधानमन्त्री बालेन सम्बन्धित मन्त्रालयको बजेटमाथिको छलफलमा उपस्थित नभए के हुन्छ भन्ने कुनै व्यवस्था छैन । तर यसलाई प्रतिवपक्षी दलहरूले विधि नमानेको रूपमा लिएर विधि अनुसार संसद् चलाउनुपर्छ भनेर सभामुखमाथि दबाब बढाएका छन् ।
सम्बन्धित मन्त्रीहरू उपस्थित नभएपछि सोमबारको बैठक पनि २० मिनेटका लागि स्थगित भएको थियो । स्थगित भएर पुनस् बसेको बैठकमा सम्बन्धित मन्त्रीहरू उपस्थित भएका थिए ।
सोमबार प्रतिनिधिसभामा ९ वटा मन्त्रालयको मन्त्रालयगत बजेटमाथि छलफल थियो । तर, नेकपा एमालेका सांसद राजेन्द्रकुमार राई बोल्न रोस्ट्रम पुग्दा दुई जना मात्रै उपस्थित थिए ।
९ जना नै मन्त्री उपस्थित नभएसम्म नबोल्ने अडान राईले राखे । सभामुखले डोलप्रसाद अर्यालले आफ्नो कुरा राख्न आग्रह गर्दा समेत मानेनन् । त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो ।
स्थगित भएर सुरु भएको बैठकमा सम्बन्धित मन्त्रीहरू उपस्थित भएका थिए ।
