केपी शर्मा ओली गतवर्षको पासपोर्ट ठेक्का प्रकरणमा जोडिए
सहयात्रा टिभी
काठमाडौँ । असार १०, पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली गतवर्षको पासपोर्ट ठेक्का प्रकरणमा जोडिएका छन् ।

परराष्ट्र मन्त्रालयका कानुन उपसचिव पुष्करराज नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिँदै प्रधानमन्त्री ओलीकै निर्देशनमा पासपोर्टको ठेक्का दुई भागमा टुक्राइएको बयान गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्कामा अनियमितता भएको दाबीसहित विशेष अदालतमा पेश गरेको आरोपपत्रमा पासपोर्ट ठेक्कालाई प्याकेज एक र दुई गरी दुई भागमा टुक्र्याउनुमा पनि बदनियत र भ्रष्टाचार गर्ने उद्देश्य रहेको आरोप लगाएको छ ।
कानुन उपसचिव नेपालले अख्तियारमा बयान गर्दै सरकारले राहदानी प्रणाली आफैं चलाउन सक्ने विषयमा व्यापक छलफल भएको भनी बयान गरेका छन् ।
प्रधानमन्त्री कार्यालयमा त्यसबारे पटकपटक छलफल भएको र तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई समेत ब्रिफिङ भएको भनी उनले अख्तियारमा बयान गरेका हुन् ।
उनका अनुसार, त्यतिबेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको चेम्बर (कार्यकक्ष)मा परराष्ट्र मन्त्रालयका सचिव, सहसचिव, राहदानी विभागको टिम, प्रधानमन्त्री कार्यालयका सचिवहरू र अरु विज्ञ बोलाएर छलफल भएको थियो ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले आफूहरुलाई निर्देशन दिएको कानुन उपसचिव नेपालले बयान गरेका छन् । उनले बयानमा भनेका छन्, ‘प्रधानमन्त्री स्वयंले पनि ‘ल, दुईवटा प्याकेजमा गर्नुहोस्, प्रतिस्पर्धी हुनेगरी गर्नुहोस्, सीमित नगर्नुहोस् । पारदर्शी गर्नुहोस्, दुईवटा प्याकेजमा गर्नुहोस्, त्योभन्दा सस्तो पनि पर्छ’ भन्ने निर्देशन पनि स्पष्ट भएको छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पेश गरेको आरोपपत्रको दुई ठाँउमा केपी ओलीको नाम छ । पहिलो, परराष्ट्र मन्त्रालयमा कार्यरत कानून उपसचिव पुष्करराज नेपालले ओलीले ठेक्का टुक्र्याउन निर्देशन दिएको बयान गरेका छन् ।
दोस्रो, अख्तियारले संकलित प्रमाण र बयानको मूल्यांकनमा पनि ओलीको नाम उद्धृत गरेको छ । कानुन उपसचिव नेपालले ‘यस्तो यस्तो व्यहोराको बयान गरेको’ भन्दै अख्तियारले उपसचिव नेपाललाई पनि मुद्दा चलाउनुपर्ने निर्णय गरेको हो ।
उपसचिव नेपालले तत्कालीन पूर्वप्रधानमन्त्री ओलीको नाम जोडेर त्यो बैठकमा परराष्ट्र र राहदानी विभागका अरू अधिकारीहरू संलग्न भएको बयान गरेपनि अख्तियारले त्यसबारेमा अरुसँग बुझेको छैन ।
अख्तियारले आफ्नो निर्णयमा पूर्वपराराष्ट्रमन्त्री डा। आरजु राणा देउवामाथि छुट्टै अनुसन्धान शुरु गरेको दावी गरेपनि ओलीबारे कुनै विवरण उल्लेख गरेको छैन ।
