मदन भण्डारीको ७५औँ जन्मजयन्ती कैलालीमा मनाइँदै, सुदूरपश्चिमका कम्युनिस्ट शीर्ष नेताहरू एउटै मञ्चमा

सहयात्रा टिभी

काठमाडौँ । असार १४, जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा कैलालीमा विशेष विचार गोष्ठी आयोजना गरिने भएको छ। मदन भण्डारी फाउन्डेसन कैलाली जिल्ला कार्यसमितिको आयोजनामा हुने कार्यक्रममा सुदूरपश्चिमका विभिन्न कम्युनिस्ट धारका शीर्ष नेताहरू एउटै मञ्चमा सहभागी हुने जनाइएको छ।

आज दिउँसो १ः३० बजे धनगढीस्थित मनमोहन स्मृति भवन (नेकपा एमाले पार्टी कार्यालय) मा आयोजना हुने गोष्ठीमा नेपालको कम्युनिस्ट आन्दोलन, जनताको बहुदलीय जनवाद (जबज) तथा जननेता मदन भण्डारीको राजनीतिक विचारमाथि विस्तृत छलफल गरिनेछ।

फाउन्डेसनका कैलाली अध्यक्ष रामचन्द्र जोशीका अनुसार कार्यक्रमको उद्देश्य सुदूरपश्चिमका कम्युनिस्ट शीर्ष नेताहरूलाई एउटै मञ्चमा ल्याई वैचारिक बहस, एकता र संगठनात्मक सन्देश प्रवाह गर्नु हो ।

उनका अनुसार कार्यक्रममा नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट, सुदूरपश्चिम प्रदेश इन्चार्ज दामोदर भण्डारी, केन्द्रीय सदस्य कर्ण थापा तथा नेपाल कम्युनिस्ट पार्टीका नेता दीर्घ सोडारी, रमेश धामीलगायतलाई आमन्त्रण गरिएको छ ।

कार्यक्रममा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) को वर्तमान सान्दर्भिकता, नेपाली कम्युनिस्ट आन्दोलनमा उनको योगदान तथा समकालीन राजनीतिक परिवेशमा त्यसको महत्वबारे गहन विमर्श हुने अध्यक्ष जोशीले बताए।

उनका अनुसार यो कार्यक्रम केवल जन्मजयन्ती मनाउने औपचारिकता नभई मदन भण्डारीको राजनीतिक दर्शनलाई नयाँ पुस्तासम्म पुर्‍याउने, वैचारिक बहसलाई सशक्त बनाउने तथा कम्युनिस्ट आन्दोलनमा एकताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।

फाउन्डेसनले कार्यक्रमलाई जननेता मदन भण्डारीको वैचारिक विरासत स्मरण गर्दै सुदूरपश्चिममा कम्युनिस्ट आन्दोलनबीच संवाद, सहकार्य र वैचारिक एकताको वातावरण निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

प्रकाशित : 28 June, 2026

प्रतिक्रिया दिनुहोस्