प्रतिनिधिसभा बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । असार १८, संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् । उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरेपछि मन्त्री गौतमले यसलाई पारित गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

यस्तै, अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफलका साथै निर्णयार्थ प्रस्तुत गरेपछि पारित गरियोस भन्ने प्रस्ताव गर्नेछन् ।

यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित विधेयकहरू पनि निर्णयार्थ पेस गरिनेछन्। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथि दफावार छलफल गरि पारित गरियोस् भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ ।

प्रकाशित : 2 July, 2026

प्रतिक्रिया दिनुहोस्