प्रतिनिधिसभाबाट पारित नियमावली विरुद्ध कांग्रेस सर्वोच्च जाने
सहयात्रा टिभी
काठमाडौँ । असार २१, प्रतिनिधिसभाबाट पारित भएको ‘प्रतिनिधिसभा नियमावलीमा राखिएका प्रावधान’को विरुद्धमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ ।

प्रतिपक्षी दलहरूको विरोधका बीच संसद् नियमावलीमा रहेका प्रावधानलाई सत्तारुढ दल रास्वपाले बहुमतबाट पारित गरेको थियो । संविधान संशोधनको प्रावधान र सांसदहरूलाई फौजदारी बाहेक अन्य कानुन नलाग्ने व्यवस्था नियमावलीमा राखिएको भन्दै विपक्षी दलले आपत्ति जनाएका छन् । केही समय सेलाएको उक्त मुद्दाको न्यायिक निरुपणका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेस अदालत जाने भएको हो ।
प्रतिनिधिसभा सञ्चालनका लागि बनेको नियमावलीविरुद्ध अदालत जान कांग्रेस सभापति गगन थापाले कानुनविद् र कानुन व्यवसायीसँग शुक्रबार छलफल गरेका छन् । छलफलमा उपसभापति पुष्पा भुसाल, महामन्त्री गुरुराज घिमिरे, प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक बासना थापा सहभागी थिए ।
कांग्रेसका शीर्ष नेताहरूले वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे, शेरबहादुर केसी, अधिवक्ता राजु कटुवाल लगायतसँग छलफल गरेका हुन् ।
शुक्रबारको छलफलपछि कांग्रेसले नियमावलीको विरुद्धमा अदालत जाने निर्णय गरेको थियो । शीर्ष नेता र कानुन व्यवसायीहरूको छलफलमा रिट लिएर अदालत जानेबारे तीन विकल्पमा छलफल भएको सहभागी अधिवक्ता कटुवालले जानकारी दिए ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संसदीय दल फरकफरक जाने वा संयुक्त रूपमा रिट दायर गर्ने लगायतका विकल्पमा छलफल भएको कटुवालले जानकारी गराए ।
