नेपाली कांग्रेसले विभाग गठन नगर्ने

सहयात्रा टिभी

काठमाडौँ । असार २४, नेपाली कांग्रेसले विभाग गठन नगर्ने भएको छ । केन्द्रदेखि तल्लो तहसम्म विषयगत विभाग गठन गर्ने विगतको परम्परालाई कांग्रेसले हटाएको छ ।

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले नै विभागले गर्ने कार्यहरु गर्ने सभापति गगन थापाले जानकारी गराए ।

उपसभापति शर्मा नेतृत्वमा रहेको प्रतिष्ठानले विषयगत क्षेत्रहरु तोकेर उपसंयोजकहरु तोकेको छ । पार्टीले तय गर्ने विषयगत धारणाहरु नीति प्रतिष्ठानको माध्यमबाट ल्याउने गरी विभाग गठन नगरिएको सभापति थापाले जानकारी गराए ।

पुसमा भएको विशेष महाधिवेशनबाट पारित विधानमा विभागको व्यवस्था हटाइएको थियो । विभागले गर्ने कार्यहरु नीति प्रतिष्ठानले गर्ने गरी उपसमिति र संयोजकहरु तोकिएको छ ।

ती उपसमितिले आफूले प्राप्त गरेको जिम्मेवारी अनुसार विषयगत बहस र छलफल चलाइरहेका छन् । फरक फरक क्षेत्रमा पार्टीको दृष्टिकोण बनाउन, बहस पैरवी गर्नका लागि १२ वटा उपसमिति गठन गरिएको छ ।

प्रस्तावित नीतिगत विषयहरू एवं समसामयिक विषयमा केन्द्रीय कार्यालयमा पछिल्लो समय निरन्तर अन्तरसंवादहरु हुँदै आएको छ । नीतिगत विषयहरुमा बहस गर्ने गरी नीति प्रतिष्ठानले कञ्चन झाको नेतृत्वका उपसमिति गठन गरिएको छ । पार्टीले सञ्चालन गर्र्दै आएको बहसहरुलाई ‘ग्रीन टेबल’ नाम दिइएको छ ।

पार्टीको तर्फबाट सुकुम्बासी र अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानलाई साझा विन्दु तय गर्ने जिम्मेवारी नीति प्रतिष्ठान अन्तर्गत गठित भूमि व्यवस्था सम्बन्धि बिशेष अभियान उपसमितिलाई दिइएो छ ।

भूमि व्यवस्था सम्बन्धी पार्टीको धारणा तय गर्ने उपसमितिको संयोजकमा डा. गोपाल दहित छन् । विपद व्यवस्थापन उपसमितिको संयोजकमा मानबहादुर थापा तोकिएका छन् । उनी नेतृत्वको उपसमितिले विपद्को पूर्व तयारी, उद्धार र पुनस्र्थापना सहजीकरणमा काम गर्नेछ ।

मानसिक स्वास्थ्य सचेतनाको क्षेत्रमा पार्टी कार्य गर्नका लागि मोहना अन्सारी उपसमिति संयोजक तोकिएको छ । सूचना, प्रविधि तथा डिजिटल सुशासनमा दिपेश विष्ट, निर्वाचन प्रणाली सुधारका लागि अवधारणा, संवाद र समन्वय गर्न संयोजन गर्ने जिम्मेवारी जनक चटौतले पाएका छन् ।

पूँजिगत बजेट खर्च प्रणालीमा सुधार र पुर्वाधार निर्माणको गतिका लागि आवश्यक नीति र योजना तर्जुमा गर्नका लागि पार्टीको तर्फबाट दृष्टि तय गर्ने गरी पूर्वाधार विकास अवधारणा, संवाद र दृष्टि उपसमिति बनाइएको छ । यो उपसमिमितको संयोजन अमृत ज्ञवालीले गर्दै आएका छन् ।

 

प्रकाशित : 8 July, 2026

प्रतिक्रिया दिनुहोस्