एमाले अरू कसैको लहरोमा मात्रै अघि बढ्ने पार्टी होइनौं : ओली

सहयात्रा टिभी

काठमाडौं ।साउन १, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई अझै धेरै एक्ल्याउने प्रयास भइरहेको बताएका छन् ।

साथै, उनले एमाले अरू कसैको लहरोमा मात्रै अघि बढ्ने पार्टी नभएको दाबी समेत गरे । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टीको वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

आफूहरूले धक्का आएको भए पनि सिद्दिएकै अवस्था भने नभएको ओलीको भनाइ छ ।

आँधी, हुरी, तुफान, बाढी लगायत धेरैसँग सामना गर्दै आएको पार्टी एमाले भएको बताउँदै उनले कसैलाई नसमाति अघि बढ्नै नसक्ने भने नहुने जिकिर गरे ।

‘हामी यस्तो लहरो होइन, जसले अर्कालाई नसमातिकन उठ्नै सक्दैन । हामी एउटा स्वतन्त्र वृक्ष हौं । दह्रो, मजबुत र विशाल वृक्ष हो । अरुको बलमा उभिएका पनि होइन,’ उनले भने, ‘आफैं हुर्किंदै, आँधी हुरी तुफान बाढी अनेक चिजहरूसँग सामना गरेर आएका छौं । तर, अर्को कसैलाई नसमातिकन उठ्नै नसक्नेखालको त्यान्द्रो होइन, एमाले । एमाले आफू एउटा स्वतन्त्र हैसियत भएको पार्टी हो ।’

उनले आफ्नै बलमा फेरि पार्टी नवीकृत हुँदै अघि बढ्ने बताए ।

‘त्यसकारण कतिबेला कहाँनिर छ, त्यो परिस्थितिले गर्ला । तर, हामी आफैं यहाँसम्म आएका हौं । आफैं आफ्नै खुट्टामा उभिएका हौं,’ ओलीले भने, ‘फेरि पनि आफ्नै बुतामा नवीकृत हुँदै अघि बढ्छौं । चुनौतीहरूको सामना गर्न र तीनलाई पराजित गर्दै अघि बढ्छौं ।’

नेकपा एमाले परिस्थितिसँग नआत्तिने पनि जिकिर गरे । ‘अनुकूतला आयो भने हौसिने र प्रतिकूलता आयो भने निराश हुने पार्टी होइन,’ ओलीले भनेका छन् ।

प्रकाशित : 17 July, 2026

प्रतिक्रिया दिनुहोस्