विराटनगर विमानस्थलबाट साढे ६ लाखसहित उपसचिव पक्राउ
सहयात्रा टिभी
काठमाडौँ । साउन ८, विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन् ।
उनी नेपाल सरकारका उपसचिव हुन् । ३ साउनमा बुद्ध एयरको विमानमा विराटनगरबाट काठममाडौं जाने क्रममा पक्राउ परेका थिए । उनी पक्राउ परेको विवरण प्रहरीले शुक्रबार मात्रै सार्वजनिक गरेको हो ।
दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङको झोलामा १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट गरी ६ लाख ६५ हजार रुपैयाँ फेला परेपछि प्रहरीले रकमको स्रोतको खोजी गरेको थियो । स्रोत खुलाउन नसकेपछि विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ पर्दा बरामद भएको रकमको स्रोत पुष्टि गर्न नसकेका कारण नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।

