मोरङ-सुनसरीमा आज पनि रोकिएन प्रदर्शन, पूर्वपश्चिम राजमार्ग ठप्प
सहयात्रा टिभी
इनरुवा, सुनसरी । साउन १२, सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडप र प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको घटनालाई लिएर मंगलबार पनि प्रदर्शन जारी रहेको छ। प्रदर्शनकारीहरूले पूर्वपश्चिम राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध पारेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार राजमार्गको पकलीदेखि कोशी ब्यारेज क्षेत्रसम्म ठाउँ–ठाउँमा अवरोध सिर्जना गरिएको छ। चोकहरूमा ठूलो संख्यामा मानिसहरू भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। प्रदर्शन चर्किएपछि सुरक्षा र सावधानीलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले इटहरीबाट पश्चिम जाने सवारी साधनहरूलाई रोक लगाएको छ।
राजमार्गका साथै विराटनगरको बजार क्षेत्रमा पनि युवाहरूले भेला भई विरोध प्रदर्शन गरिरहेका छन्। गत आइतबार कप्तानगञ्जमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने अन्य ९ जना घाइते भएका थिए। सोही घटनाको विरोधमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन्।
घटनापछि स्थिति नियन्त्रण बाहिर जान नदिन स्थानीय प्रशासनले दक्षिण क्षेत्रका पाँच वटा मुख्य बजार क्षेत्रमा कर्फ्यु आदेशलाई निरन्तरता दिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचना अनुसार मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।
विशेषगरी हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु लगाइएको छ। प्रशासनले यी क्षेत्रका निश्चित सीमाहरू तोकेर भेला, जुलुस वा कुनै पनि प्रकारका प्रदर्शन गर्न पूर्ण रोक लगाएको छ।
कर्फ्यु लगाइएका क्षेत्रका सीमाहरू:
-हरिनगरा बजार: पूर्वमा नुनिया टोलदेखि पश्चिममा खुनिया धारसम्म।
-भुटाहा बजार: पूर्वमा मोरिया धार खोलादेखि पश्चिममा इदगाहा फिल्डसम्म।
-कप्तानगञ्ज बजार: पूर्वमा यादव टोलदेखि दक्षिणमा नेपाल–भारत सीमा क्षेत्रसम्म।
-घुस्की बजार: पूर्वमा कासमिया मदरसादेखि पश्चिममा प्रहरी चौकीसम्म।
-देवानगञ्ज बजार: पूर्वमा मुसहर टोलदेखि पश्चिममा मोरिया खोलासम्म।
प्रशासनले कर्फ्यु उल्लंघन नगर्न र शान्ति–सुरक्षा कायम राख्न सर्वसाधारणमा अपील गरेको छ। यद्यपि, देवानगञ्जको अवस्था भने बिस्तारै सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।
