मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

सहयात्रा टिभी
काठमाडौँ । साउन २१,    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।
हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई मेघगर्जन चट्याङसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना रहेको विभागद्वारा विज्ञप्तिमा उल्लेख छ । यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, कोशी प्रदेशका हिमाली र पहाडी भूभाग, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रकाशित : 6 August, 2026

प्रतिक्रिया दिनुहोस्