नेपालमै विकसित बहुप्रकोप पूर्वसूचना प्रणाली ‘मैना’को परीक्षण सफल
सहयात्रा टिभी
काठमाडौँ । साउन २१, नेपालमै विकसित बहुप्रकोप पूर्वसूचना प्रणाली ‘मैना’ को परीक्षण सफल भएको छ ।
इनोभेटिभ इन्जिनियरिङ सर्भिसेस प्रालिले विकास गरेको उक्त प्रणालीले बाढी, पहिरो, डुबान, हिमताल विस्फोट, वन डढेलो, औद्योगिक दुर्घटनालगायत विभिन्न विपद्का बेला समयमै चेतावनी सूचना प्रवाह गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका डिजाइनकर्ता तथा कार्यकारी अध्यक्ष एवं प्राविधिक प्रमुख इन्जिनियर अनुप खनालका अनुसार मानिसको आवाजको नक्कल गर्न सक्ने तथा सूचना प्रवाहसँग जोडिने विशेषता भएकाले यस प्रणालीको नाम ‘मैना’ राखिएको हो ।
उनका अनुसार प्रणालीले बाढी, पहिरो, डुबान, बाँध दुर्घटना, औद्योगिक विपद् तथा अन्य आकस्मिक घटनाका बेला समुदायलाई समयमै सूचना प्रवाह गर्न सक्छ ।
यसमार्फत एसएमएस, इन्टरनेट, स्याटेलाइट नेटवर्क तथा वायरलेस रिमोट कन्ट्रोलमार्फत तत्काल चेतावनी सन्देश पठाउन सकिन्छ । साथै विभिन्न स्थानीय भाषामा पूर्व–रेकर्ड गरिएका वा प्रत्यक्ष (लाइभ) आवाज सन्देशसमेत प्रसारण गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै ठूलो बाढी वा अत्यधिक वर्षा हुँदा सेन्सरबाट प्राप्त वास्तविक समय (रियल–टाइम) को सूचनाका आधारमा प्रणालीले स्वचालित रूपमा साइरन बजाएर चेतावनी दिने सुविधा पनि रहेको खनालले बताए ।
नेपाल जलवायु परिवर्तन, अव्यवस्थित भू–उपयोग तथा बढ्दो मानवीय गतिविधिका कारण बाढी, पहिरो, डुबान, हिमताल विस्फोट, वन डढेलो, चट्याङ तथा औद्योगिक दुर्घटनाजस्ता विभिन्न विपद्को उच्च जोखिममा रहेको देश हो ।
पछिल्ला वर्षमा एकल प्रकारका विपद्सँगै बहुप्रकोप (मल्टी–हाजार्ड) का घटना पनि बढ्दै गएकाले समयमै सूचना प्रवाह गरी जनधनको क्षति न्यूनीकरण गर्न सक्षम पूर्वसूचना प्रणालीको आवश्यकता बढ्दै गएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव गोकर्ण पन्थका अनुसार नेपालका अधिकांश जलविद्युत् आयोजना बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को प्रत्यक्ष जोखिममा छन् । यस्ता बहुप्रकोप पूर्वसूचना प्रणालीको प्रभावकारी प्रयोग गर्न सके जलविद्युत् आयोजनामा हुन सक्ने जनधनको क्षति उल्लेखनीय रूपमा न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।
सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जाल नेपाल (एन–सीडीएमसी) का राष्ट्रिय अध्यक्ष श्यामबाबु कट्टेलले विपद्लाई पूर्णरूपमा रोक्न नसकिने भए पनि समयमै सूचना पुगे जनधनको क्षति उल्लेखनीय रूपमा घटाउन सकिने बताए ।

