संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीले दिए प्रश्न नगर्न चेतावनी

सहयात्रा टिभी

काठमाडौँ । साउन २१, बिहीबार राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङ प्रश्नोत्तर कार्यक्रममा सरिक भए । तर सांसदहरूका प्रश्नको जवाफ दिन रोष्ट्रम उक्लिएका गृहमन्त्री गुरुङले प्रश्नकर्ता सांसदलाई नै प्रतिप्रश्न गरे ।

पहिलो प्रश्न नेपाली कम्युनिस्ट पार्टीका सांसद बिष्णुबहादुर विश्वकर्माले गरे । उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय उठाए ।

जवाफमा गृहमन्त्री गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर लागिरहेको बताए ।

देशमा हुने हत्या हिंसा बलात्कार लगायतका अपराधहरूको अनुसन्धान चरणबद्ध रूपमा काम गरिरहेको भन्दै गृह मन्त्रालयको मुख्य विषय के हो ख्याल गर्न सुझाए ।

अनि निर्मला पन्तको विषयमा किन प्रश्न उठाएको भनेर प्रश्नकर्ता सांसद विश्वकर्मालाई नै प्रतिप्रश्न गर्न थाले ।

‘माननीयज्यूले उठाउनु भएको विषय एकदमै सेन्सिटिभ छ । यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु, हजुरहरू सत्तामा हुँदा खेरि किन नगर्नु भएको यो ?’

आफू सरकारका हुँदा काम नगर्ने अनि नयाँ सरकार बनेपछि विषय उठाएर यो विषय उठाएर घाउलाई कोट्टाउने काम किन गरेको भनेर गृहमन्त्रीले अर्को प्रश्न गरे ।

‘अहिले हामीलाई आएर त्यो भारी बोकाउदै गर्दा खेरि माननीयज्यूलाई एउटा आग्रह गर्न चाहेँ, यो एकदम सेन्सिटिभ विषय हो । यो सेन्सिटिभ विषयलाई हामीले जहिले पनि त्यो एउटा आमाको घाउलाई कोट्याको कोट्याइ गर्ने हो कि सदनको मार्फत उहाँलाई पीडा दिई राख्ने हो ?’

यसमा चरणबद्ध रूपमा सूक्ष्म तरिकाले अनुसन्धान गरेर रिजल्ट दिनुपर्ने भन्दै फेरि प्रश्न गरे, ‘तपाईं कोही मान्छे बित्दै गर्दा खेरि त्यसबारे दिनका दिन सम्झाउँदा, राष्ट्रिय स्तरबाट सम्झाउँदा तपाईंलाई मजा आउँछ होला त ? तपाईंलाई मनमा शान्ति हुन्छ होला त ? यो पनि म हजुरलाई प्रश्न गर्न चाहन्छु ।’

प्रतिप्रश्न पछि गृहमन्त्री गुरुङले वर्तमान सरकारले पनि यो विषयमा अनुसन्धान गरिरहेको जवाफ दिए ।

‘यसमा म धेरै कुरा बोल्न सक्दिन । बोल्दा उचित हुँदैन होला जस्तो लाग्छ । यो अनुसन्धानको विषय हो यो, यसमा हामीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौ,’ उनले भने । यत्ति भनेर गृहमन्त्री गुरुङले सांसदहरूलाई यो विषयमा फेरि प्रश्न नउठाउन चेतावनी दिए ।

‘म सम्पूर्ण माननीयज्यूहरूलाई यसलाई (निर्मला पन्तको हत्यापछि बलात्कार भएको विषयलाई) अब प्रतिनिधिसभा र राष्ट्रिय सभामा यो प्रश्न नउठाइदिनु हुन म विनम्र अनुरोध आग्रह गर्न चाहन्छु,’ गुरुङले भनेका छन् ।

बरु आफूलाई व्यक्तिगत रूपमा भेटेर सुझाव दिन उनको आग्रह छ ।

‘कुनै विषय छ भने मलाई व्यक्तिगत रूपमा आएर सोध्नु होला । माननीय मन्त्रीज्यू के भइराछ ? कसो छ भनेर सोध्दा खेरि पनि फरक पर्दैन ।’

त्यस्तो अवस्थामा जवाफ दिने भन्दै उनले थपे, ‘त्यसको उत्तर मसँग छ । तर मैले जहिले पनि यसरी गरेर एउटा आमाको पिडामाथि मल्हम लगाउनुको साटो बारम्बार यहाँ सदनमा बसेर उहाँको छोरीको सम्झनालाई कोट्याइराख्न राख्न मेरो नैतिकताले दिँदैन ।’

रोष्ट्रमबाट प्रश्न नगर्न चेतावनी दिएका गृहमन्त्री गुरुङले रोष्ट्रम बाहिर प्रश्न गर्दा भने विस्तृत जानकारी दिन सक्ने दोहोर्‍याए ।

उनले भनेका छन्, ‘माननीयज्यू माफी पनि माग्न चाहन्छु यसको बारेमा मैले राम्रोसित उत्तर दिन सक्दिन होला । तर हजुरले एकछिन पछि मलाई सोध्दा खेरि म यसको बारेमा विस्तृत जानकारी दिन सक्छु । सबै माननीयज्यूहरूलाई यो रिक्वेस्ट गरिरहेको छु ।’

 

प्रकाशित : 6 August, 2026

प्रतिक्रिया दिनुहोस्