रोल्पामा पहिरोको कहर : १५ जनाको ज्यान गयो, दुई गाउँपालिका शोकमा

सहयात्रा टिभी

काठमाडौँ । साउन ३०, लगातारको अविरल वर्षासँगै आएको पहिरोले रोल्पाको पूर्वी क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ । बुधबार र बिहीबार गएको पहिरोमा परी जिल्लाका थबाङ र सुनछहरी गाउँपालिकामा कुल १५ जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन् ।

गत बुधबार (२७ गते) थबाङ गाउँपालिका–५ स्थित कोटलबारामा खसेको पहिरोले एउटा सिङ्गो बस्ती नै बगाएको थियो । उक्त घटनामा ११ जनाले अकालमै ज्यान गुमाएका छन् । पहिरोमा परी १८ वर्षीया शान्ति पुनमगरदेखि ८५ वर्षीया हस्तकला रोकामगरसम्मको ज्यान गएको छ ।

घटनामा ९ वर्षीय अशिम पुनमगर र ८० वर्षीय अजम्बर पुनमगर बेपत्ता छन्, जसको खोजी कार्य निरन्तर भइरहेको छ । घाइते भएका २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरको भने बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । पहिरोले कोटलबारामा ९ वटा घर, एउटा घुम्ती पसल, दुईवटा गोठ र एउटा चर्च गरी १३ वटा संरचना पूर्ण रूपमा नष्ट गरेको छ ।

घटनाले स्थानीयवासीलाई गहिरो शोक र त्रासमा छाडेको छ । पहिरोमा ज्यान गुमाएका ७ वर्षीय बालक अशोक पुनमगरका काका कृष्णले भावुक हुँदै भने, “कोही खाना खाँदै थिए, कोही सुत्ने तयारीमा थिए । एक्कासि आएको पहिरोले सबैलाई लग्यो । यो घटना हाम्रो मानसपटलबाट कहिल्यै नमेटिने घाउ बनेर बसेको छ ।” थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगरले यति ठूलो अकल्पनीय क्षतिले सिङ्गो गाउँपालिकालाई मर्माहत बनाएको बताउँदै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सुनछहरीमा पनि उस्तै विपत्ति

थबाङमा उद्धार कार्य चलिरहेकै बेला रोल्पाकै सुनछहरी गाउँपालिका–२ का फलबाङ्ग र गिट्ठेमा पनि पहिरोले थप चार जनाको ज्यान लिएको छ । पहिरोमा परी फलबाङ्गका ७७ वर्षीय वीरबहादुर घर्तीमगर, ६८ वर्षीया शनी घर्तीमगर, ७० वर्षीया लली घर्तीमगर र गिट्ठेका ६४ वर्षीय लामी घर्तीमगरको मृत्यु भएको छ ।

सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगर थबाङमा भएको पहिरोका पीडितको उद्धारमा खटिइरहेकै बेला आफ्नै पालिकामा विपत्ति आइपरेको थियो । “प्रकृतिले कतिबेला धोका दिन्छ, पत्तै नहुने रहेछ । यो घटनाले गाउँपालिकालाई अत्यन्तै चिन्तित र मर्माहत बनाएको छ,” अध्यक्ष पुनमगरले भने ।

रोल्पामा लगातारको पहिरोले ल्याएको यस महाविपत्ति र १५ जनाको मृत्युको घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ । प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा राहत वितरणको प्रयास भइरहेको प्रशासनले जनाएको छ ।

प्रकाशित : 15 August, 2026

प्रतिक्रिया दिनुहोस्