बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प

सहयात्रा टिभी

काठमाडौँ । भदौ २, बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ भने सञ्चालनमा रहेका दुई आयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको छ। सडकमार्ग अवरुद्ध हुँदा निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी रोकिएपछि धवलागिरि, अन्नपूर्ण र मालिका गाउँपालिकाका आयोजनाहरू प्रभावित भएका हुन्।

म्याग्दीमा निर्माणाधीन ५३.५ मेगावाटको अपर म्याग्दी–१, ३७ मेगावाटको माथिल्लो म्याग्दी, ६५ मेगावाटको म्याग्दीखोला, १४ मेगावाटको मुदीखोला, ९.१४ मेगावाटको सुपर घलेम्दी र ६.५ मेगावाटको दरखोला जलविद्युत् आयोजनाको निर्माण सुस्त बनेको छ।

अपर म्याग्दी–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार घुमाउने (फापरखेत), बाङ्गेपहिरो र इल्पुमा खसेको पहिरो तथा शिवरात्रि खोलामा आएको बाढीका कारण असारदेखि निर्माण सामग्री र उपकरण ढुवानी हुन सकेको छैन। “मौजुदा सामग्री प्रयोग गरेर काम जारी राखे पनि ढुवानी रोकिँदा सोचेअनुसार गति लिन सकिएको छैन,” केसीले भने।

म्याग्दीखोला जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीले पनि पहिरो पन्छाउँदै र डोजरको सहायताले गाडी तार्दै काम चलाउनुपरेको बताए। यस्तै बेनी–दरबाङ र दरबाङ–ताकम सडकखण्डका विभिन्न ठाउँमा पहिरो खस्दा निर्माण सामग्री ढुवानीमा ठूलो समस्या परेको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले जानकारी दिए।

निर्माण मात्र नभई सञ्चालनमा आइसकेका दुई आयोजना पनि बाढीपहिरोका कारण बन्द छन्। अन्नपूर्ण गाउँपालिका–४ स्थित नारच्याङको रेलेखर्कबाट आएको बाढीले बाँध पुरिएपछि असार दोस्रो सातादेखि ६ मेगावाटको रेलेखोला आयोजना बन्द छ। यस्तै साउन २६ गते सुक्खा पहिरोले विद्युत्गृह पुरिँदा १४ मेगावाटको घारखोला जलविद्युत् आयोजनाको उत्पादन ठप्प भएको छ। उक्त पहिरोमा परेर १ जनाको मृत्यु र १ जना घाइते भएका थिए।

प्रकाशित : 18 August, 2026

प्रतिक्रिया दिनुहोस्