पूर्वाधारमन्त्रीको हेलिकप्टर ‘रेस्क्यु’लाई लिएर सांसदहरूबीच जुहारी
सहयात्रा टिभी
काठमाडौँ । भदौ २, पूर्वाधारमन्त्री सुनील लम्साल बिरामी परेपछि हेलिकप्टरबाट उद्धार गरिएको विषयलाई लिएर संघीय संसद्मा सांसदहरूबीच चर्को जुहारी चलेको छ। सोमबारदेखि सदनमा उठेको यो विषयमा मंगलबार पनि सांसदहरूले आलोचना र बचाउ गर्दै आ-आफ्नो धारणा राखेका छन्।

सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग र पूर्वाधारको अवस्था निरीक्षण गर्न गएका मन्त्री लम्साल बैतडीमा बिरामी परेका थिए। शुक्रबारदेखि भ्रमणमा रहेको उनको टोली आफैं गाडी चलाएर दार्चुला हुँदै शनिबार साँझ बैतडी सदरमुकाम पुगेको थियो। त्यहाँ स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई हेलिकप्टरमार्फत धनगढी र त्यहाँबाट नेपाली सेनाको ‘स्काइ ट्रक’मार्फत काठमाडौं ल्याइएको थियो। उपचारपछि उनी हाल अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
यसै विषयलाई लिएर सांसदहरूले सरकारको प्राथमिकता र मन्त्रीहरूको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
‘मन्त्रीलाई हेलिकप्टर, सुत्केरीलाई एम्बुलेन्स पनि छैन’
नेपाली कांग्रेसकी सचेतक बासना थापाले सर्वसाधारणले सिटामोल र अस्पताल जाने सवारी साधन नपाउने तर मन्त्रीको उद्धारमा लाखौं खर्च गरिएको भन्दै आक्रोश पोखिन्।
“काठमाडौंको मिनिरल वाटर र जारको पानी खाएर हुर्किएका मन्त्री कर्णाली (दुर्गम) पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौं खर्च गरेर हेलिकप्टरमा काठमाडौं ल्याइन्छ,” थापाले प्रश्न गरिन्, “मन्त्री काठमाडौं ल्याउन ३०–३५ लाख खर्च गर्न सक्ने सरकारले ३ लाख खर्च गरेर जनतालाई राहत पुर्याउन सक्दैन ?” उनले मन्त्रीको जीवन जति मूल्यवान छ, दूरदराजका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसद पारसमणि गेलालले पनि सोमबारको बैठकमा मन्त्रीहरूको भ्रमणलाई लिएर असन्तुष्टि जनाएका थिए। उनले मन्त्रीहरूलाई अनावश्यक घुम्न निस्कनुको सट्टा मन्त्रालयमै बसेर नीति निर्माण गर्न र कर्मचारीको मनोबल बढाउन सुझाव दिए। “मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर उपलब्ध हुन्छ, तर जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन हुँदैन,” गेलालले भने, “तपाईंहरूलाई देश घुम्ने रहर हो कि समस्या समाधान गर्ने हुटहुटी ?”
काम गर्नेको आलोचना भयो भन्दै रास्वपाद्वारा बचाउ
आलोचना बढेपछि रास्वपाका सांसद भरतप्रसाद पराजुलीले मन्त्री लम्साल र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यशैलीको कडा बचाउ गरेका छन्। उनले काम गर्ने मान्छेको सधैं आलोचना हुने गरेको गुनासो गरे।
“सम्माननीय प्रधानमन्त्रीज्यू यो देशको मुहार परिवर्तन गर्छु भनेर अहोरात्र खट्नुभएको छ, तर चौतर्फी आलोचना हुन्छ,” सांसद पराजुलीले भने, “मन्त्री लम्साल कुनै रिबन काट्न नभई वर्षातको समयमा देशको कनेक्टिभिटी र जनताको समस्या बुझ्न आफैं गाडी चलाएर दूरदराज पुग्नुभएको हो। तैपनि उहाँकै आलोचना हुन्छ।” उनले विरोधका लागि मात्र विरोध गर्ने प्रवृत्तिको अन्त्य गरी राम्रो कामको समर्थन गर्न आह्वान गरे।
जनताले ग्यास, मल, सञ्चार र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता नपाइरहेको अवस्थामा राज्यको ढुकुटी खर्च गरेर मन्त्रीहरू हेलिकप्टरमा उडेको भन्दै सदनमा मंगलबार पनि यस विषयले प्राथमिकता पाएको छ।
