सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान जारी

सहयात्रा टिभी

काठमाडौँ । भदौ ४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका निमित्त सचिव पद्म मैनालीले सेक्युरिटी प्रेस खरिद सम्बन्धी विषय हाल विस्तृत अनुसन्धानकै क्रममा रहेको जानकारी दिएका हुन् ।

सार्वजनिक लेखा समितिबाट प्राप्त भएका करिब १० वटा निर्देशनहरूमध्ये सेक्युरिटी प्रेस खरिद प्रकरणलाई आयोगले अध्ययन गरिरहेको उनको भनाइ छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका निर्देशनका आधारमा राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालसँग सम्बन्धित २-३ वटा उजुरीहरू विस्तृत अनुसन्धानको प्रक्रियामा रहेको मैनालीले बताए ।

रौतहटको दुर्गा भगवती गाउँपालिका कार्यालयसँग सम्बन्धित विषयमा अनुसन्धान पूरा भई मुद्दा दायर भइसकेको समेत मैनालीले जानकारी दिए ।

आर्थिक वर्ष २०७४/७५ बाहेक अन्य वर्षहरूमा अदालतबाट फैसला भएका मुद्दाहरूमा कसुर कायम हुने प्रतिशत ७० प्रतिशतभन्दा माथि रहेको बैठकमा जानकारी गराइयो ।

विशेष अदालतबाट कसुर कायम नभएका (सफाइ पाएका) मुद्दाहरूमा आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्ने गरेको उनको भनाइ छ ।

प्रकाशित : 20 August, 2026

प्रतिक्रिया दिनुहोस्