सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन खोजे

सहयात्रा टिभी

काठमाडौँ । भदौ ८, प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्ने सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन खोजेका छन् ।

संविधान र मानव अधिकारसम्बन्धी नेपालले गरेका प्रतिवद्धताहरूसँग बाझिए पनि यसलाई चिर्ने ल्याकत संसद्ले राख्नुपर्ने उनीहरूको तर्क छ ।

गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयसँगै विगतका कतिपय घटनासमेत स्मरण गर्दै सांसदहरूले समयाअनुकुल ऐन परिमार्जन गर्नुपर्नेमा सांसदहरूले जोड दिएका हुन् ।

प्रहरीका अनुसार साउन ३१ गते बिहान जितपुरसिमरा उपमहानगरपालिका–१ दसधुरे टोलकी तीन वर्षीया गरिमा चौधरी एकाएक घरबाटै हराएकी थिइन् ।

गरिमाकी आमा मानमतिले साढे ३ घण्टासम्म नदेखेपछि सिमरा र पथलैया प्रहरीलाई जानकारी गराएकी थिइन् । प्रहरीले खोज्छौं भन्ने जवाफ दिएका थिए ।

त्यसको पर्सिपल्ट बालिकाको शव फेला पर्‍यो । यो विषय उठाउँदै सांसदहरूले बलात्कारीलाई कडा सजाय दिने गरी ऐन बनाउन आवश्यक रहेको बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाश पाठकले भद्रपुर झापा स्थायी घर भई अध्ययनका लागि जापान पुगेकी २५ वर्षीय लक्ष्मी राजवंशीको आफ्नै कोठामा हत्या भएको विषय उठाए ।

हल्दीबारी–२ झापा निवासी कक्षा ७ मा अध्ययनरत १२ वर्षीय रेबिका विश्वकर्मा विगत दुई दिनदेखि बेपत्ता रहेको सुनाए ।

उनको तत्काल खोजीकार्य अघि बढाउन गृहमन्त्रालयको ध्यानाकर्षण गरे ।

‘स्वदेशमा होस् वा विदेशमा हाम्रा छोरीहरू जताततै असुरक्षित छन्’, उनले भने, ‘पीडा कस्तो हुन्छ भोग्नेलाई मात्र थाहा छ । आखिर हाम्रा छोरीहरू कहिलेसम्म लक्ष्मी राजवंशी, निर्मला पन्त र गरिमा चौधरी बन्नपर्ने हो ?

प्रकाशित : 24 August, 2026

प्रतिक्रिया दिनुहोस्