गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने
सहयात्रा टिभी
काठमाडौँ । भदौ ९ , गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसदहरूले सोधेका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिने भएका छन् ।

गत साउन १५ गतेदेखि स्थगित भएको प्रदेश सभाको बैठक आगामी भदौ १० गते दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ । मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने ११ गतेको बैठकमा रहेको सचिव गोविन्द पौडेलले जानकारी दिएका छन् ।
यसअघि गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको २०८० साल भदौ ३ गते भएको थियो । मुख्यमन्त्री पाण्डेभन्दा अघिल्लो कार्यकालमा प्रत्यक्ष प्रश्नोत्तर भएको थिएन । संघीयता कार्यान्वयनमा आएपछि दोस्रो पटक प्रश्नोत्तर हुन लागेको हो ।
मुख्यमन्त्री पाण्डेले आफ्नो नेतृत्वमा गण्डकीमा भइरहेको काम र जनताका समस्याबारे सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका हुन् । प्रदेश सभा सञ्चालन नियमावली अनुसार सांसदहरुले मुख्यमन्त्रीलाई सोध्ने प्रश्न पहिल्यै टिपाउनु पर्छ । संसदमा उभिएर सांसदले जनताको प्रश्न र सरकारको कामबारे प्रत्येक्ष सोध्न पाइने भएकालेले यो व्यवस्थाले कार्यपालिका र व्यवस्थापिकालाई जोड्ने काम गर्छ भने कार्यपालिकालाई अझै जिम्मेवार हुन सहयोग पुर्याउँछ ।
’गण्डकी प्रदेश सभा नियमावली, २०८०’ ले सरकारलाई संसदप्रति उत्तरदायी र पारदर्शी बनाउन प्रत्यक्ष प्रश्नोत्तरको स्पष्ट व्यवस्था गरेको छ । नियमावलीको परिच्छेद ९ को नियम ५६ मा प्रत्येक्ष प्रश्न गर्न पाउने व्यवस्था छ । नयमावली अनुसार प्रदेश सभाको बैठक चलिरहेको अवस्थामा सामान्यतया महिनाको एकपटक मुख्यमन्त्री र मन्त्रीहरूसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यसूची तय गर्नुपर्छ । तर, प्रदेशमा भने प्रश्नोत्तरको निरन्तर अभ्यास हुन सकेको छैन ।
सांसदहरूले प्रदेशको नीति, आयोजना, सुशासन तथा विकास निर्माणका विषयमा सोध्न चाहेको प्रश्न निश्चित समयअगावै प्रदेश सभा सचिवालयमा लिखित रूपमा दर्ता गराउनुपर्छ । मुख्यमन्त्रीले उत्तर दिइसकेपछि प्रश्नकर्ता सांसदलाई थप स्पष्टताका लागि नियमानुसार पूरक प्रश्न सोध्ने अधिकार हुन्छ ।
