लुम्बिनी सरकारमा नवनियुक्त तीन मन्त्रीले लिए शपथ
सहयात्रा टिभी
काठमाडौँ । भदौ ९ , लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका छन् ।
तीनै जना मन्त्री नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद हुन् । जसमा दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
शपथ ग्रहरण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य पनि उपस्थित थिए ।
साउन १२ गते नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्य प्रक्रिया अघि बढेको थियो ।
वर्तमान सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेकपाबाट तीन जना र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहनेगरी भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको भनिएको छ ।

