बाढीमा ५ जापानी नागरिक बेपत्ताको खबरले चिन्तित छु : जापानी प्रधानमन्त्री

सहयात्रा टिभी

काठमाडौँ । भदौ ११ , जापानी प्रधानमन्त्री सानाए ताकाइचीले नेपालमा आएको भीषण बाढी र त्यसले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। बाढीमा परी ५ जना जापानी नागरिक बेपत्ता भएको खबरले आफूलाई अत्यन्तै चिन्तित बनाएको उनले बताएकी छन्।

सामाजिक सञ्जाल एक्समार्फत ताकाइचीले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेकी छन्। उनले भनेकी छन्, ‘स्थानीय सञ्चारमाध्यमले ५ जना जापानी नागरिक बेपत्ता भएको खबर सम्प्रेषण गरेका छन्, जसले मलाई गहिरो चिन्तामा पारेको छ।’ नेपालस्थित जापानी दूतावासले ती ५ जना नागरिकलाई सम्पर्क गर्न निरन्तर प्रयास गरे पनि सफल हुन नसकेको र खोजी कार्यमा सहयोगका लागि अनुरोध गरेको उनले जानकारी दिएकी छन्।

‘जापानको समयअनुसार बिहान ३:३० बजेसम्म मलाई त्यहाँको सञ्चार अवस्थाबारे पूर्ण जानकारी छैन, तर यदि त्यस क्षेत्रमा एक्समा यो पोस्ट देख्ने कसैलाई उनीहरूको सुरक्षा वा अवस्थाबारे जानकारी छ भने, कृपया नेपालस्थित जापानी दूतावासलाई खबर गरिदिनुहोला,’ उनले अपिल गरेकी छन्।

उनले दूतावासमा सम्पर्क गर्नका लागि +९७७-१-४५२६-६८० नम्बर समेत उपलब्ध गराएकी छन्। आफ्नो सन्देशमा उनले आफ्ना नागरिक, नेपाली जनता र त्यहाँ रहेका सबै विदेशी नागरिकहरूको सुरक्षाको कामना गर्दै सबैको अमूल्य जीवनको रक्षा होस् भनी प्रार्थना गरेकी छन्।

प्रकाशित : 27 August, 2026

प्रतिक्रिया दिनुहोस्