विपद्को बेला सरकारलाई पार्टीका तर्फबाट सक्दो सहयोग गर्छौँं : गगन
सहयात्रा टिभी
काठमाडौँ । भदौ १४ , नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको यस घडीमा सरकारलाई पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन्।
विपद् व्यवस्थापनमा पार्टीको भूमिका र आगामी कार्ययोजनाबारे कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै विपद् व्यवस्थापनमा सरकारलाई सहयोग आफूहरुको कर्तव्य भएको बताए।
उद्धार, राहत तथा पुनस्र्थापनामा देखिएका कमजोरीप्रति खबरदारी गर्ने कांग्रेसको दायित्वसमेत रहेको स्पष्ट पारे। विपद्का बेला सरकारको आलोचना गर्नुभन्दा सहयोग गर्नु प्राथमिकता भए पनि काममा देखिएका कमी(कमजोरी औँल्याउनु पनि सहयोगकै एउटा स्वरूप भएको बताए।
उनले भने, ‘कहाँ ग्याप छ, कहाँ काम गर्नुपर्ने तर भइरहेको छैन, त्यसबारे औँल्याउने काम पनि हाम्रो हो। यो गर्नु भनेको विपद्का बेला आलोचना गर्नु होइन, विपद्का बेला सहयोग नै पुर्याउनु हो।’
रास्वपा सभापति रवि लामिछानेले आयोजना गरेको सर्वदलीय बैठकले सबै राजनीतिक दलबीच संसद्भित्रै साझा संयन्त्र निर्माण गर्ने समझदारी बनेको बताए। संयन्त्रलाई तत्काल पूर्णता दिएर काममा लैजान रास्वपा सभापतिसँग थप छलफल गर्ने बताए।
कांग्रेसले विपद् प्रभावित क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्तालाई परिचालन गरेको समेत जानकारी दिए।
प्रभावित क्षेत्रबाट प्राप्त सूचनालाई सम्बन्धित सरकारी निकायसम्म पुर्याउने र आवश्यक परे सरकारमाथि दबाब सिर्जना गर्ने काम पार्टीले निरन्तर गर्ने उनले बताए।
नुवाकोट र रसुवाका वडा अध्यक्ष तथा पार्टीका वडा सभापतिसँग प्रत्यक्ष सम्पर्क गरी स्थानीय अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको पनि उनले बताए। कांग्रेसका कुनै पनि तहले सार्वजनिक उत्सव तथा भड्किला कार्यक्रम नगर्न निर्देशन दिए।
उनले आफू भोलि पार्टीको विपद् टोलीसहित प्रभावित क्षेत्रमा जानेसमेत जानकारी दिए।

