अमेरिकाबाट पनि ४० टनभन्दा बढी राहत सामग्री नेपाल आइपुग्यो

सहयात्रा टिभी

काठमाडौँ । भदौ १७, नेपालमा गत हप्ता गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको सहयोगस्वरुप अमेरिकाबाट पनि ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री नेपाल आइपुगेको छ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी मानवीय संस्था सामारिटन्स पर्सले पठाएको राहत सामग्री काठमाडौं आइपुगेको हो।

राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ सामग्री र सौर्य बत्तीलगायतका सामग्री छन्।

यी सामग्रीले बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा काम गरिरहेका संस्थामार्फत २ हजार ६ सय परिवारलाई सहयोग पुग्ने दूतावासले जनाएको छ।

नेपालस्थित अमेरिकी दूतावासले जीवनरक्षक सहायता नेपालका आवश्यकताअनुसार प्रभावित समुदायसम्म पुर्‍याउन नेपाल सरकार र विभिन्न साझेदार संस्थासँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ।

दूतावासले बाढीबाट प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउन स्थानीयस्तरमा कार्यरत संस्थासँगको सहकार्यलाई प्राथमिकता दिइएको पनि जनाएको छ।

 

प्रकाशित : 2 September, 2026

प्रतिक्रिया दिनुहोस्