बाढीपछि चीनतर्फ फसेका थप १५५ नेपाली स्वदेश फर्किए

सहयात्रा टिभी

काठमाडौँ । भदौ १९, रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका थप १५५ जना नेपाली शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन् ।

चिनियाँ पक्षले उनीहरूलाई सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो । बाढीपछि चीनतर्फ फसेका नेपालीलाई स्वदेश फर्काउने क्रममा पहिलो दिन बिहीबार ११४ जना र दोस्रो दिन शुक्रबार १५५ जना नेपाल आइपुगेका हुन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार शुक्रबार नेपाल आएका १५५ जनामध्ये १४५ जना रसुवाका नागरिक छन् । त्यस्तै, धादिङका १ जना र काठमाडौंका ९ जना रहेको उनले जानकारी दिए ।

चिनियाँ पक्षले नेपाल फर्काइएका नागरिकको राहदानी नम्बरलगायत आवश्यक विवरणसमेत नेपाली अधिकारीलाई उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

नेपाल आइपुगेका नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरेपछि काठमाडौं लगिनेछ । पहिलो दिन नेपाल फर्किएका नागरिकलाई भोटेकोशी गाउँपालिकाले काठमाडौंसम्म पुग्न यातायातको व्यवस्था गरेको थियो भने दोस्रो दिन फर्किएका नागरिकका लागि उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले यातायातको व्यवस्था गरेको छ ।

रसुवामा आएको बाढीका कारण ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक प्रभावित भएका थिए । बाढीपछि चीनतर्फ फसेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया जारी रहेको प्रशासनले जनाएको छ ।

बाढीका कारण चीनतर्फ करिब आठ सय नेपाली फसेको बताइएको छ । उनीहरूलाई क्रमशस् तातोपानी नाका हुँदै नेपाल ल्याउने काम भइरहेको छ ।

 

प्रकाशित : 4 September, 2026

प्रतिक्रिया दिनुहोस्