एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

सहयात्रा टिभी

काठमाडौँ । भदौ २१, एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ ।

आइतबार देखि मलेसियामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई सात विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ । नेपाल र साउदीबीचको खेल बिहान ७ः १५ बजे सुरु हुँदैछ । दुई खेलमा विजयी भएको समूह ‘ए’को नेपाल चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तीन खेलमा दुई हार एक जित निकालेको साउदी दुई अंकसहित तालिकाको पुछारमा छ ।

प्रतियोगितामा सहभागी १० टोलीलाई पछाडि पार्दै उपाधि जितेर सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ नेपाली टोली मलेसिया पुगेको हो । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्।

नेपालले समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्ने तालिका छ। यसअघि साउदीसँग भएका दुई खेलमा नेपालले एक खेल जितेको छ भने एक खेल रद्द भएको थियो। ५० ओभरको क्रिकेटमा हङकङविरुद्ध भने नेपालले चार खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् भने विजेता टोलीले सन् २०२७ को एसिया कपमा सिधै स्थान बनाउनेछ। सहजै सेमिफाइनल प्रवेशका लागि नेपालले आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा पराजित भएर अन्तिम खेलको नतिजापछि नेपालले रनरेटको गणना पर्खिनुपर्ने हुनसक्छ ।

प्रकाशित : 6 September, 2026

प्रतिक्रिया दिनुहोस्