कांग्रेसद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग
सहयात्रा टिभी
काठमाडौँ । भदौ २२, रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले उक्त रकम बराबरको चेक सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ ।
टोलीमा महामन्त्री पौडेलका साथै कोषाध्यक्ष उमेश श्रेष्ठ र रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायतका नेताहरू उपस्थित थिए ।
१० भदौमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ ।
बाढीका कारण कैयौं घरपरिवार विस्थापित हुनुका साथै भौतिक संरचनामा व्यापक नोक्सानी भएको छ ।
विपद्को घडीमा पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित बासस्थानको व्यवस्थापनमा सघाउ पुर्याउने उद्देश्यले कांग्रेसले रकम सरकारलाई उपलब्ध गराएको महामन्त्री पौडेलले बताए ।
रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले संकटको अवस्थामा कांग्रेस सम्पूर्ण बाढीपीडित नागरिकको साथमा रहेको बताए ।
बाढीपहिरोका कारण सुरुङमार्ग लगायतका विभिन्न स्थानमा फसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

