त्रिशूली(३ ‘बी’ मा तीन ठूला एस्काभेटर पुगेपछि खोजी तीव्र

सहयात्रा टिभी

काठमाडौँ । भदौ २३, भोटेकोशी–त्रिशूली बाढीमा परेर सम्पर्कविहीन भएकाहरूको खोजीका लागि ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा तीन वटा ठूला एस्काभेटर र एउटा ब्याकोल लोडर उपकरण पुर्‍याइएको छ ।

भदौ १० गते आएको बाढीमा आयोजनामा कार्यरत १९१ जना सम्पर्कविहीन भएकोमा निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका १३ जना सम्पर्कमा आएपछि १७८ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजीका लागि सोमबारसम्म पनि प्रयास जारी छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार यसअघि साना एस्काभेटर प्रयोग गरेर आयोजनाको आवास तथा कार्यालय क्षेत्रमा उत्खनन गरिँदै आएको थियो ।

ठूला मेसिनरी उपकरण लैजान नसक्दा खोजी कार्यमा अपेक्षित प्रगति हुन सकेको थिएन ।

धेरै दिनको प्रयासपछि आयोजनाको अडिट तथा मुख्य सुरुङ सफा गरेर तीन वटा ठूला एस्काभेटर आयोजनाको कार्यालय तथा आवास रहेको बाढी प्रभावित क्षेत्रमा पुर्‍याउन सम्भव भएको हो ।

तीमध्ये दुई वटा एस्काभेटर यसअघि माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको खोजी तथा उद्धारमा प्रयोग गरिएका हुन् भने एउटा प्रवद्र्धक कम्पनीले व्यवस्थापन गरेको हो ।

 

 

प्रकाशित : 8 September, 2026

प्रतिक्रिया दिनुहोस्