बाढीबाट क्षति पुर्‍याएको आयोजना पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

सहयात्रा टिभी

काठमाडौँ । भदौ २५, गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोटमा ७८३ मेगावाट क्षमताका जलविद्युत् आयोजनामा क्षति पुगेको पाइएको छ ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनले रसुवा र नुवाकोटका १३ जलविद्युत आयोजना तथा २४ मेगावाट क्षमताका पाँचवटा सौर्य विद्युत आयोजनामा क्षति पुगेको देखाएको हो ।

प्रतिवेदनअनुसार बाढीबाट ऊर्जा र सडक क्षेत्रमा सबैभन्दा ठूलो क्षति पुगेको छ । ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थान र पुनर्निर्माणका लागि मात्रै ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

त्यस्तै, २५ मेगावाट क्षमताको नुवाकोट सौर्य विद्युत् आयोजनासहित अन्य सौर्य आयोजनासमेत बाढीबाट प्रभावित भएका छन् ।

बाढीले आयोजनाका विद्युत् उत्पादन संरचना, पहुँचमार्ग, प्रसारण तथा अन्य पूर्वाधारमा क्षति पुर्‍याएको प्रतिवेदनले औंल्याएको छ । क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा ऊर्जा प्रणालीलाई पूर्ववत् अवस्थामा फर्काउन ठूलो रकम आवश्यक पर्ने देखिएको हो ।

बाढीबाट प्रभावित आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकमध्ये अझै ९१७ जना सम्पर्कविहीन रहेको प्रतिवेदनमा उल्लेख छ ।

बाढी गएको दुई साता पुग्न लाग्दासमेत ठूलो संख्यामा श्रमिक तथा कर्मचारी सम्पर्कविहीन छन् । उनीहरूको खोज उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न देशमा विज्ञ तथा प्राविधिकहरू र सम्बन्धित कम्पनीका प्राविधिक तथा विज्ञहरू समेत लागिरहेका छन् ।

 

प्रकाशित : 10 September, 2026

प्रतिक्रिया दिनुहोस्