भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै
सहयात्रा टिभी
काठमाडौँ । भदौ २८, भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक तथा राहत सामग्री सङ्कलन हुने क्रम जारी छ । विभिन्न सङ्घसंस्था, निजी क्षेत्र र विद्यार्थीहरूले सहयोग रकम जुटाएर कोषमा जम्मा गरिरहेका छन् ।

पर्साका युवाहरू (जेनजी) ले बाढी प्रभावितका लागि १५ लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा जहाँतहीँ सङ्कलन गरी प्रभावित क्षेत्रमा पठाएका छन् । यस्तै, वीरगन्जको शिवम् बचत तथा ऋण सहकारी र समाजसेवी नीरज सर्राफले जनही २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । नेपाल पुलिस स्कुल शान्तिपुरका विद्यार्थीहरूले खाजा खर्च कटाएर ९५ हजार ७८३ रुपैयाँ राहत कोषमा जम्मा गरेका छन् ।
रुकुम पश्चिमका १४ वटा निजी विद्यालयहरूले प्याब्सनमार्फत ८ लाख ७२ हजार रुपैयाँ सहयोग जुटाएका छन् । जसमा मुसिकोटस्थित न्यु मुनलाइट बोर्डिङले २ लाख ३ हजार र विजयश्वरी बोर्डिङले २ लाख १ हजार रुपैयाँ योगदान गरेका छन् ।
त्यसैगरी, होस्टल व्यवसायी सङ्घ नेपालले पनि २ लाख ७० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष किरण शर्माको टोलीले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत हस्तान्तरण गरेको हो ।
