प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान
सहयात्रा टिभी
काठमाडौँ । भदौ २८, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीनको साताव्यापी औपचारिक भ्रमणका क्रममा आज (आइतबार) बेइजिङतर्फ प्रस्थान गरेका छन्।

चीनको औपचारिक निमन्त्रणामा हुन लागेको यो भ्रमण सेप्टेम्बर १३ देखि १९ (भदौ २८ देखि असोज ३ गते) सम्म सञ्चालन हुनेछ। भ्रमणका दौरान प्रधानसेनापति सिग्देलले राजधानी बेइजिङमा आयोजना हुने बहुपक्षीय सुरक्षा संवाद ‘१३औँ बेइजिङ सियाङसान फोरम’ मा सहभागिता जनाउने कार्यतालिका रहेको छ।
नेपाली सेनाका अनुसार यस उच्चस्तरीय भ्रमणले नेपाल र चीनबीचको लामो समयदेखिको आपसी सैनिक सम्बन्धलाई थप विस्तार र सुदृढ बनाउन मद्दत पुग्नेछ। साथै, सैनिक कूटनीतिको माध्यमबाट नेपालको समग्र परराष्ट्र नीति कार्यान्वयनमा समेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास सेनाले लिएको छ।
बेइजिङ प्रस्थान गर्नुअघि प्रधानसेनापति सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। त्यसलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसी लगायतका उच्च सैनिक अधिकारीहरूले बिदाइ गरेका थिए।
प्रधानसेनापतिको भ्रमण अवधिभर उनको अनुपस्थितिमा नेपाली सेनाको दैनिक प्रशासनिक तथा कार्यसञ्चालन जिम्मेवारी बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधानसेनापतिको हैसियतमा सम्हाल्ने नेपाली सेनाले जानकारी दिएको छ।
